हेटौंडा/हेटौंडा उपमहानगरपालिकामा भूमिहीन सुकुम्बासी समुदाय आफ्नो आधारभत अधिकारको माग राख्दै जुलुससहित सडकमा उत्रिएका छन् । उनीहरुले उठीबास नभएर सही व्यवस्थापन माग गरेका छन् । प्रदर्शनकारीले सुकुम्बासीविरोधी सूचना खारेज गर्दै तत्काल लालपुर्जा वितरण गर्न माग गरेका छन् ।

वर्षौंदेखि स्थायी बसोबासको अभावमा जीवनयापन गर्दै आएका उनीहरुले व्यवस्थित बसोबास, पहिचान र सम्मानजनक जीवन माग गरेका छन् । भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समिति मकवानपुरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।

उनीहरु हेटौंडा—११, थानाभ¥याङबाट सोमबार विहान ११ बजे ¥याली निकालेर जिल्ला प्रशासन कार्यालय पुगेका हुन् । ब्यानरसहित नाराबाजी गर्दै सुकुम्बासी बस्तीका नागरिकले विरोध जनाएका छन् । भूमिहीन सुकुम्बासीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । काठमाडौंसँगै देशभरका सुकुम्बासीको लगत संकलन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनलाई निर्देशन दिएसँगै मकवानपुरका सुकुम्बासीहरु सशंकित छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले भने गृह मन्त्रालयको निर्देशनबमोजिम सुकुम्बासीको लगत संकलन कार्य भइरहेको जानकारी दिनुभएको छ ।

तर, हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले हाल देशभर चर्चामा रहेको सुकुम्बासी बस्ती हटाउने विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै विकासका लागि कहिलेकाहीँ कठोर निर्णय आवश्यक हुने बताउनुभएको छ । उहाँले विकासको प्रारम्भ क्रर देखिन सक्ने भए पनि अन्ततः त्यसले सुन्दर र दीर्घकालीन संरचना निर्माण गर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरिँदा देखिएको पीडा र नागरिकको क्रन्दनप्रति संवेदनशीलता व्यक्त गर्दै यस्तो प्रक्रिया मानवीयरुपमा पीडादायी भए पनि दीर्घकालीन विकासको दृष्टिले आवश्यक हुनसक्ने बताउनुभयो । उहाँका अनुसार भग्नावशेषपछि निर्माण हुने पार्क, सडक विस्तार तथा नदीकिनारको व्यवस्थापनले शहरलाई व्यवस्थित र आकर्षक बनाउनेछ । प्रमुख लामाले बालेन्द्र शाह (बालेन) को नेतृत्व क्षमता, फरक सोच र साहसिक निर्णय क्षमताको प्रशंसा गर्दै देश निर्माणमा उनको योगदान उल्लेखनीय रहेको धारणा राख्नुभयो । उहाँले वर्तमान समयले पनि यस्तो नेतृत्वलाई साथ दिइरहेको बताउनुभयो ।

उहाँले सुकुम्बासी नागरिकलाई अपमानजनक तरिकाले आलोचना नगर्न आग्रह गर्दै धेरै नागरिक परिस्थितिवश सार्वजनिक जग्गामा बस्न बाध्य भएको उल्लेख गर्नुभएको छ । उहाँहरु पनि समाजकै हिस्सा भएकाले सम्मान र अधिकारको संरक्षण गर्नपर्नेमा जोड दिनुभएकी लामाले सरकारद्वारा बिस्थापित सुकुम्बासीहरुको उचित व्यवस्थापन गरिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नागरिकहरुलाई विकासका कार्यमा सहयोग गर्न आग्रह गर्दै व्यक्तिगत स्वार्थभन्दा दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।