काठमाडौं/बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजोप) ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा शिक्षालाई विशेष प्राथमिकता दिन सरकार तथा सरोकारवाला निकायस“ग आग्रह गरेको छ ।

सिजोप अध्यक्ष विष्णुमान श्रेष्ठ र महासचिव राजु क्षत्रीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा विपद्का कारण बालबालिका परिवारबाट बिछोडिने, हराउने, चोटपटक लाग्ने, मानसिक तनावमा पर्ने, शोषण तथा हिंसाको जोखिममा रहने र आधारभुत आवश्यकताबाट वञ्चित हुनसक्ने भन्दै उनीहरुको संरक्षणमा विशेष संवेदनशीलता अपनाउन आग्रह गरिएको हो । विज्ञप्तिमा बालबालिकाको जीवनरक्षा, सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण र शिक्षालाई विशेष प्राथमिकता दिन आवश्यक रहेको उल्लेख छ । प्रभावित बालबालिकाको तत्काल उद्धार तथा उपचारस“गै सुरक्षित आश्रय, पोषणयुक्त खाद्यान्न, स्वच्छ खानेपानी, सरसफाइ सामग्री, लत्ताकपडा तथा बालमैत्री वातावरण सुनिश्चित गर्न सरकार, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज तथा मानवीय सहायता क्षेत्रमा क्रियाशील संस्थालाई अभियानले अनुरोध गरेको छ ।

बाढीका कारण अभिभावक वा परिवारका सदस्य गुमाएका, बेपत्ता भएका वा परिवारबाट छुट्टिएका बालबालिकाको तत्काल पहिचान गरी सुरक्षित स्थानमा राख्नुपर्नेमा पनि अभियानले जोड दिएको छ । त्यस्ता बालबालिकाको परिवारस“ग पुनर्मिलन तथा संरक्षणको व्यवस्था गर्दा उनीहरुको सर्वोत्तम हितलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

सिजोपले विपद्का समयमा बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, शोषण, बेचबिखन तथा अन्य जोखिम बढ्नसक्ने भन्दै सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरि बाढीप्रभावित क्षेत्रमा बालबालिकाको अवस्था तथा परिवारको विवरण संकलन गरी उनीहरुको संरक्षणका लागि प्रभावकारी अनुगमन र समन्वय गर्नुपर्ने अभियानको भनाइ छ ।

विपद्बाट प्रभावित बालबालिकाको पहिचान, तस्बिर तथा व्यक्तिगत् विवरण सार्वजनिक गर्दा संवेदनशीलता अपनाउन र उनीहरुको गोपनीयता तथा सम्मानको अधिकार सुरक्षित गर्न पनि अभियानले आग्रह गरेको छ । बालबालिकाको तस्बिर वा व्यक्तिगत् विवरणको अनधिकृत प्रयोगले उनीहरु थप जोखिममा पर्न सक्ने भन्दै जिम्मेवारढंगले सूचना सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । अभियानले विपद्को समयमा बालबालिकाको सर्वोत्तम हित र अधिकार संरक्षणलाई केन्द्रमा राखी सरकारी निकाय, सुरक्षा संयन्त्र, स्थानीय तह, नागरिक समाज, मानवीय सहायता संस्था तथा सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ ।

रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पु¥याएको थियो । बाढीबाट रसुवासहित नुवाकोट, धादिङलगायत जिल्लाका नदीतटीय क्षेत्र प्रभावित भएका छन् । राष्ट्रिय बालअधिकार परिषद्ले पनि विपद्बाट प्रभावित बालबालिकाको उद्धार, सुरक्षा, संरक्षण तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिन आग्रह गर्दै बाल हेल्पलाइन १०९८ र बालबालिका खोजतलास सेवा १०४ प्रयोग गर्न अनुरोध गरेको छ ।