हेटौंडा/बागमती प्रदेशका तीन जिल्लामा ५ दिन लगातार सार्वजनिक बिदा हुने भएको छ । शुक्रबार कृष्णाजन्माष्टमी, शनिबार र आइतबार सार्वजनिक बिदा छ भने बागमती प्रदेशका तीन जिल्लामा सोमबार चेपाङ समुदायको ठूलो पर्व छोनाम (न्वागी) परेको छ । भदौ २३ गते जेनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
बागमती सरकारले मकवानपुर, धादिङ र चितवनमा न्वागीका अवसरमा सार्वजनिक बिदा दिएको छ । चेपाङ समुदायले प्रत्येक वर्ष भदौ २२ गते छोनाम पर्व मनाउने गर्छन् । नेपाल चेपाङ संघको मागअनुसार प्रदेश सरकारले २०७८ चैत ९ मा चेपाङ बाहुल्य जिल्ला मकवानपुर, चितवन र धादिङमा प्रत्येक वर्ष भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । चेपाङ समुदायको भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्धेश्यले न्वागीका दिन प्रदेश सरकारले राजपत्रमा उल्लेख गरेर सार्वजनिक बिदा दिएको हो ।
भोटेकोशी बाढीबाट नुवाकोट, रसुवा र धादिङ जिल्लामा ठूलो धनजनको क्षति भएकाले चेपाङ समुदायले सामूहिकरुपमा मनाइ“दै आएको न्वागी पर्व घर÷घरमा मात्र मनाउने भएका छन् । एक दशकदेखि नेपाल चेपाङ संघको आयोजनामा चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहु“ र लमजुङका चेपाङ समुदाय एकैस्थानमा भेला भएर सामूहिकरुपमा न्वागी मनाउ“दै आएका थिए । यस वर्ष भोटेकोशीको बाढीका कारण तामझाम र मनोरञ्जन गरेर न्वागी नमनाउने निर्णय गरेको संघका अध्यक्ष गोबिन्द चेपाङले बताए ।
चेपाङ समुदायले पितृलाई नचढाइ र पूजाआजा नगरी नया“ फलफूल र अन्नपात खान हु“दैन भन्ने मान्यता छ । यस पर्वमा अन्न र फलफूल भूमि र पितृमा चढाउने गरिन्छ । पर्वमा भोजभतेर तथा नाचगान गरेर रमाइलो गर्ने चलन छ । २०७८ को जनगणनाअनुसार झापादेखि कञ्चनपुरसम्म ३१ जिल्लामा चेपाङ समुदायको बसोबास छ । सबभन्दा धेरै चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहु“ र लमजुङमा छन् । २०७८ सालको जनगणनाअनुसार ४२ हजार ७ सय ५८ पुरुष र ४१ हजार ६ सय ६ महिला गरी मुलुकमा ८४ हजार ३ सय ६४ चेपाङको जनसंख्या छ ।
२०७८ को जनगणनाअनुसार चेपाङ समुदायको सबभन्दा धेरै बागमती प्रदेशमा ७७ हजार ९ सय १४ र गण्डकीमा ५ हजार ६ सय १७ जनसंख्या छ । बा“की अन्य प्रदेशमा थोरै संख्यामा विभाजित छन् । बागमती प्रदेशको चितवनमा १८ हजार १ सय पुरुष र १७ हजार ५ सय ३७ महिला गरी ३५ हजार ६ सय ३७ जनसंख्या छ । मकवानपुरमा ११ हजार ९ सय ७२ पुरुष र ११ हजार ६ सय ७८ महिला गरी २३ हजार ६ सय ५० छन् । धादिङमा ८ हजार ६ सय ८७ जना पुरुष र ८ हजार ४ सय ७३ महिला गरी १७ हजार १ सय ६० जना चेपाङको बसोबास छ । २०७८ को जनगणनाअनुसार काठमाडौं जिल्लामा १ हजार ५३ जना चेपाङ समुदायको जनसंख्या छ ।