हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा–४ कार्यालयले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्दै आएका सम्पूर्ण लाभग्राहीलाई भत्ता नियमितरुपमा प्राप्त गर्न निर्धारित अवधिभित्र अनिवार्यरुपमा नवीकरण गर्न आग्रह गरेको छ । वडा कार्यालयले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८३÷०८४ का लागि सामाजिक सुरक्षाभत्ता नवीकरण साउन १ गतेदेखि असोज मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ । कार्यालय समयमा सेवाग्राहीको अत्यधिक चाप हुने तथा सामाजिक सुरक्षा नवीकरण प्रणालीमा समेत प्राविधिक समस्या आउन सक्ने भएकाले लाभग्राहीको सहजताका लागि विशेष समयतालिका निर्धारण गरिएको जनाएको छ ।
सूचनाअनुसार नवीकरण हरेक दिन विहान ७ बजेदेखि १० बजेसम्म, बेलुका ४ बजेदेखि ६ः३० बजेसम्म तथा सार्वजनिक बिदाको दिन विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गर्न सकिने व्यवस्था गरिएको छ । नवीकरणका लागि लाभग्राही स्वयम् वडा कार्यालयमा उपस्थित भइ नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र नम्बर तथा सामाजिक सुरक्षा परिचयपत्र (कार्ड) साथमा ल्याउनुपर्ने वडा कार्यालयले जनाएको छ ।
यद्यपि, अपांगता भएका, ओच्छ्यानमा परेका बिरामी तथा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने उल्लेख गरिएको छ । हिँडडुल गर्न नसक्ने अपांगता भएका व्यक्ति वा ओच्छ्यानमा परेका बिरामीको हकमा घरपरिवारका सदस्यले आवश्यक प्रमाणपत्र तथा सम्बन्धित कागजात संलग्न गरी निवेदन दिएर नवीकरण गराउन सकिने व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले सबै लाभग्राहीलाई तोकिएको समयमा नवीकरण प्रक्रिया पूरा गरी सामाजिक सुरक्षाभत्ता नियमितरुपमा प्राप्त गर्न अनुरोध गरेको छ ।












