हेटौंडा/नेपालको औद्योगिक इतिहासमा २०२० सालदेखि ४० को दशक एउटा यस्तो युग थियो, जहाँ देशलाई आत्मनिर्भर बनाउने योजनाहरु केवल कागजमा कोरिएका थिएनन्, तिनलाई माटो र मेसिनसँग सीधै जोडिएको थियो । सिंहदरबारका योजनाकारहरुले कोरेको त्यो सबभन्दा वैज्ञानिक र एकीकृत खाका थियो–किसानको खेतदेखि कपडाको थानसम्मको उत्पादन चक्र ।

केवल उद्योग चलाउने योजनामात्र थिएन, यो त नेपालको आफ्नै माटोमा कपास रोपेर, आफ्नै मेसिनमा धागो कातेर र आफ्नै कारखानाबाट बजारमा कपडा पु¥याउने एउटा पूर्ण आत्मनिर्भर आर्थिक चक्रको जग थियो । यो त्रिपक्षीय मूल्य शृंखलाको आधार बाँके, बर्दिया र दाङका फाँटहरुमा किसानले उब्जाउने कपास नै यस कडीको मुख्य आधार थियो । कपास विकास समितिले किसानहरुलाई उन्नत विउ, प्राविधिक ज्ञान र मल उपलब्ध गराएर कपासखेती प्रवद्र्धन गरेको थियो । २०४५ देखि २०५२ को स्वर्णिम कालमा कपासखेती केवल एउटा परम्परागत् बाली थिएन, यो पश्चिम नेपाल ग्रामीण अर्थतन्त्रको मेरुदण्ड थियो । तत्कालीन तथ्यांकअनुसार कपास विकास समितिको प्रत्यक्ष दायरामा रही करिब ८ हजार देखि १० हजार किसान परिवार कपासखेतीमा आबद्ध थिए ।

बर्दियाको कुम्भर फार्म र बाँकेका विभिन्न पकेट क्षेत्रमा गरी करिब ४ हजार २ सय हेक्टर जमिनमा कपासखेती गरिन्थ्यो । त्यस समयमा वार्षिक २ हजार ५ सयदेखि ३ हजार ५ सय मेट्रिकटनसम्म उच्च गुणस्तरको विउ कपास उत्पादन गर्दथे । किसानको खेतमा पाकेको कच्चा कपासलाई पहिलो चरणमा प्राथमिक संकलन र प्रशोधनका लागि बाँकेको खजुरास्थित अत्याधुनिक प्रशोधन केन्द्रमा पु¥याइन्थ्यो । खजुराको प्रशोधन केन्द्रमा राखिएका उच्च क्षमताका जिनिङ मेसिनहरुले कच्चा कपासबाट कपासको बियाँ र भुवालाई पूर्णरुपमा छुट््याउने काम गर्थे । विउ छुट्याएर तयार पारिएको शुद्ध रेशा अर्थात् भुवा कपासलाई प्याकिङ गरी कताइ खण्डका रुपमा स्थापित बुटवल धागो कारखानातर्फ प्रस्थान गराइन्थ्यो ।

खजुरा र कुम्भरका प्रशोधन केन्द्रहरुबाट गाडीका गाडी लोड भएर आएको भुवा कपासले बुटवल औद्योगिक क्षेत्रभित्र रहेको बुटवल धागो कारखानाको मुख्य प्लान्टमा प्रवेश पाउँथ्यो । कारखानामा जडान गरिएका चिनियाँ सहयोगका ५६ वटा अत्याधुनिक स्पिनिङ फ्रेमहरु चौबीसै घण्टा चलिरहन्थे । ती मेसिनहरुमा खजुराको भुवा कपासलाई हालेर उच्च गुणस्तरको सुती धागोमा रुपान्तरण गर्ने प्रक्रिया सुरु हुन्थ्यो । भुवा कपासलाई धागोमा बदल्ने त्यो दोस्रो कडी अर्थात् बुटवल धागो कारखानाको जग २०३९ मा बसालिएको थियो । २०४८ देखि नियमित व्यावसायिक उत्पादन सुरु गरेको स्पिनिङ मिलले आफ्नो क्षमताको शिखरमा रहँदा दैनिक ७ देखि १० मेट्रिकटनसम्म उच्च गुणस्तरको सुती धागो उत्पादन गर्ने क्षमता राख्दथ्यो ।

त्यहाँ उत्पादित धागोको एउटा ठूलो हिस्सा देशको तेस्रो कडी अर्थात् हेटौंडा कपडा उद्योगलाई आवश्यक पर्ने स्पिनिङ यार्नको निरन्तर आपूर्ति सुनिश्चित गर्न पठाइन्थ्यो भने बाँकी रहेको धागो स्वदेशी बजारका अन्य कपडा बुन्ने साना उद्योगहरु र भारतमा समेत निकासी गरिन्थ्यो । बुटवल धागो कारखानाबाट उत्पादित भएको उच्च गुणस्तरको सुती धागो हेटौंडा कपडा उद्योगको परिसरमा पुग्दथ्यो, तब यसको वास्तविक रुपान्तरण सुरु हुन्थ्यो ।

हेटौंडा कपडा उद्योगको विशाल बुनाइ खण्डभित्र रहेका ४ सय ८८ वटा अत्याधुनिक तान एकै स्वरमा चल्दा निस्कने आवाजले हेटौंडा औद्योगिक क्षेत्र गुञ्जायमान हुन्थ्यो । यी तानहरुले बुटवलको धागोलाई विभिन्न श्रेणीका थान कपडाहरुमा बुन्ने काम गर्थे । २०३५ देखि व्यावसायिक उत्पादन सुरु गरेको हेटौंडा कपडा उद्योगले आफ्नो स्वर्णकालमा वार्षिक करिब १ करोड १० लाख मिटर कपडा उत्पादन गर्दथ्यो । बुनेर तयार पारिएको कच्चा वा फुस्रो कपडालाई त्यसपछि उद्योगकै रंगाइ, छपाइ र फिनिसिङ विभागमा पठाइन्थ्यो । त्यहाँ कपडालाई विभिन्न रंग भर्ने, आकर्षक बुट्टा छाप्ने र प्रयोगयोग्य नरम तथा टिकाउ बनाउने अन्तिम फिनिसिङको काम हुन्थ्यो । यसरी पूर्णरुपमा तयार भएको नेपाली सुती कपडाहरु अन्ततः आमउपभोक्ताको घरघरमा पुग्थे ।

उक्त उद्योग चीन सरकारको पूर्ण वैदेशिक सहयोगमा निर्माण गरिएको थियो । स्थापनाको सुरुवाती चरणमा उद्योगको कार्यसम्पादन निकै उत्साहजनक रहेको अभिलेखहरुले देखाउँछन् । उद्योग स्थापना गरेर चिनियाँ प्राविधिक विशेषज्ञहरू स्वदेश फर्किएको दुई वर्ष पछिसम्म पनि प्लान्टले आफ्नो पूर्णक्षमतामा गुणस्तरीय कपडा उत्पादन गरिरहेको थियो ।

तर, त्यसपछिका करिब दुई दशक भने उद्योगका लागि सुखद् रहेनन् । व्यवस्थापकीय कमजोरी, सरकारी उदासिनता र बजारको मागअनुरुप प्रविधिमा परिमार्जन हुन नसक्दा उद्योगको कार्यसम्पादन लगातार खस्कँदै गयो । २०५६ मा आइपुग्दा चरम राजनीतिक युनियनबाजी, व्यवस्थापकीय कमजोरी र लोडसेडिङको मारका कारण हेटौंडा कपडा उद्योग पूर्णरुपमा बन्द भयो । त्यसको सीधा असर दोस्रो कडी अर्थात् बुटवल धागो कारखानामा प¥यो । बुटवल धागोले आफ्नो उत्पादन खरिद गर्ने मुख्य र नियमित ग्राहक गुमायो । उत्पादित धागो गोदाममै थुप्रिन थालेपछि र निजीक्षेत्रका मिलहरुले भारतबाट सस्ता धागो आयात गर्न थालेपछि २०६४ साल फागुनमा बुटवल धागो कारखाना पनि सधैंका लागि बन्द भयो । बुटवल धागो बन्द हुनासाथ पहिलो कडी अर्थात् कपास विकास समितिको कपास खपत गर्ने औद्योगिक माग शून्यमा झ¥यो । बजार नपाएर किसानहरुले कपास खेतमै जलाउनुपर्ने पीडादायी अवस्था आयो । जीविकोपार्जनको माध्यम नै खोसिएपछि तराईका हजारौं किसानले कपासखेती त्यागेर पुनः परम्परागत् बाली वा भारत प्रवासको बाटो रोजे ।

उत्पादन कि टेलरमात्र ?

यतिबेला हेटौंडा कपडा उद्योगलाई ब्युँताउन नेपाली सेनाको कल्याणकारी कोषको लगानी र सैनिक व्यवस्थापनमा १ अर्ब ९३ अर्बको प्रारम्भिक खाका स्वीकृत गरेको छ । यद्यपि, कपडा कारखानाका लागि कच्चापदार्थ उत्पादन गर्ने न यतिबेला कपास खेती छ, न त आफ्नै स्पिनिङ उद्योग । भारत वा तेस्रो मुलुकबाट ल्याइएको कपडाबाट पुराना चिनियाँ मेसिनबाट उत्पादन असम्भव नै देखिन्छ ।

उद्योगमा सन् १९७८ मा चीनले सहयोगस्वरूप उपलब्ध एहेड प्रकारको धागो कात्ने मेसिन (स्पिनिङ मेसिन) र तानबाट बन्द हुनुपूर्वसम्म कपडा उत्पादन हुन्थ्यो । त्यसबेला जडान गरिएका मेसिनहरु हालको आधुनिक उत्पादनका लागि असान्दर्भिक त भएका छन् नै, अधिकांश त जीर्ण भइसकेका छन् ।

उत्पादनको पूर्ण आधारचक्रमा जोडिएका करिब १० हजार आमकिसानदेखि तत्कालीन समयमा कपास प्रशोधन कारखाना, धागो कारखानादेखि हेटौंडा कपडा कारखानासम्म प्रत्यक्ष रोजगारी पाएका ३ हजार अधिक श्रमिक, कर्मचारी र प्राविधिकहरु यतिबेला पूरै विस्थापित भइसकेका छन् । नेपाली सेनाको कल्याणकारी कोषबाट करिब २ अर्ब लगानी गरेर उत्पादन गरिने कपडा सेना–प्रहरीका लागिमात्र हो कि सर्वसाधारणले पनि २०४० को मध्यदशकमा जस्तै सस्तो र बलिया सुतीका कपडा लगाउन पाउने हुन् भन्ने प्रश्न अनुत्तरित नै छ