हेटौँडा/बागमती प्रदेश सरकारले प्रदेशका पत्रकारहरूको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यसहित प्रदेश अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिने व्यवस्था लागू गरेको छ।
स्वास्थ्य मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशको सिफारिसमा पत्रकारलाई उक्त सुविधा उपलब्ध गराइने जानकारी दिनुभयो।
यस निर्णयपछि प्रदेश अस्पतालमा उपलब्ध आइसियु, प्रयोगशाला, एक्स–रे, सिटी स्क्यान, एमआरआई तथा भिडियो एक्स–रे लगायतका सेवामा पत्रकारहरूले आधा शुल्कमै उपचार सेवा लिन सक्नेछन्।
नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले प्रदेश सरकारको निर्णयलाई पत्रकारमैत्री कदमको रूपमा स्वागत गर्दै यसबाट प्रदेशभरका सञ्चारकर्मी प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो।











