हेटौंडा/हेटौंडा–भैंसे सडकखण्डअन्तर्गत् त्रिभुवन राजपथको महत्वपूर्ण खण्डका रुपमा भीमफेदी गाउँपालिका–१ स्थित बाघझोरामा वर्षायामका बेला दोहोरिने सडक अवरोध तथा जामको समस्या समाधानतर्फ महत्वपूर्ण कदम अघि बढेको छ । करिब १० करोड लागत अनुमान गरिएको बाघझोरा खोला क्रसिङ संरचना निर्माणका लागि सडक डिभिजन कार्यालय हेटौंडाले ठेक्का आह्वान गरेको छ । प्रस्तावित क्रसिङ संरचना निर्माणपछि उक्त क्षेत्रको यातायात आवागमन थप सहज र सुरक्षित हुने विश्वास गरिएको छ ।
पूर्वप्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बाघझोरा खोलाको समस्या दीर्घकालीन समाधानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ज्ञापनपत्र बुझाएर आवश्यक पहल गरेका थिए । ज्ञापनपत्रमार्फत् बर्तौलाले बाढीका कारण पटकपटक सडक अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती खेप्नुपरेको उल्लेख गर्दै स्थायी समाधानका लागि आवश्यक संरचना निर्माण गर्न आग्रह गरेका थिए । सोही पहलपछि स्रोत सुनिश्चित भइ सडक डिभिजन कार्यालय हेटौंडाले निर्माण प्रक्रिया अघि बढाएको जनाइएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाका सूचना अधिकारी इञ्जिनियर यादव सुबेदीका अनुसार संरचना निर्माणका लागि शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरिएको छ । बोलपत्र खोल्ने समय साउन २१ गते दिउँसो १ बजे तोकिएको छ । ठेक्का सम्झौता भइ काम सुरु भएपछि दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सूचना आह्वान गरिएको उनले जानकारी दिए ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार संरचना निर्माण सम्पन्न भएपछि वर्षायाममा बाघझोरामा हुने सडक अवरोध तथा लामो जामको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ । रुपमा रहेको बाघझोरामा हरेक वर्ष बाढीका कारण सडक अवरुद्ध हुने र यात्रुहरु घण्टौंसम्म जाममा बस्न बाध्य हुने समस्या रहँदै आएको छ ।












