हेटौंडा । हेटौंडा बजार क्षेत्रमा पछिल्लो समय तरकारीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । विशेषगरी हेटौंडाको चौकीटोलस्थित तरकारी थोक बजार र खोपेगल्लीलगायतका स्थानमा तरकारी महँगिँदा उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । दैनिक उपभोगका अत्यावश्यक तरकारीको मूल्य अस्वाभाविक रूपमा बढ्दा घरधुरीको भान्सा खर्च बढेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।
व्यापारीहरूका अनुसार बजारमा तरकारीको आपूर्ति घट्नु र सिजन परिवर्तनको प्रभावका कारण मूल्य बढेको बताएका छन् । हिउँदे तरकारीको सिजन सकिँदै जाँदा र बर्खे तरकारी पूर्ण रूपमा बजारमा नआइसकेकाले माग र आपूर्तिबीच असन्तुलन देखिएको उनीहरूको भनाइ छ ।
हेटौंडाका उपभोक्ताहरुका अनुसार पछिल्लो समय तरकारीको मूल्य उल्लेख्य रूपमा बढेको गुनासो गर्दै आइरहेका छन् । गत वर्षको तुलनामा अहिले बजारमा तरकारीको मूल्यमा व्यापक उतारचढाव देखिएको र आपूर्ति घट्दा मूल्यमा चाप परेको जनाइएको छ । सामान्य अवस्थामा दैनिक ठूलो परिमाणमा तरकारी भित्रिने गरे पनि हाल आपूर्ति घटेर सीमित हुँदा यसको प्रत्यक्ष असर मूल्यमा परेको हो ।
तरकारीको मुल्य पछील्लो समयमा निकै बढेकाले त्यसको मारमा आफुहरु परेको हेटौंडा–४ का शर्मिला थापा बताउँछिन् । थोक व्यापारीहरूका अनुसार केही तरकारीको मूल्य भने पछिल्लो समय क्रमशः घट्ने संकेत देखिएको छ ।
विशेषगरी गोलभेँडा, लौका, घिरौँला, भिन्डीजस्ता तरकारीमा केही राहत देखिन थालेको उनीहरू बताउँछन् । बर्खे सिजन सुरु भएसँगै मकवानपुर, चितवन र तराईका जिल्लाबाट तरकारी आउन थालेपछि मूल्य क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ ।
अहिले हेटौंडा बजारमा उपभोक्ताले तरकारी खरिद गर्दा पहिलेभन्दा बढी खर्च गर्नुपरेको अवस्था छ । बजारमा मूल्य नियन्त्रण र सहज आपूर्तिको व्यवस्थापन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिएको छ ।
















