
सजिवनलाई स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ, जसमा भरपूर प्राकृतिक पोषक तत्वहरू पाइन्छन्। यसलाई मोरिङ्गा भनेर पनि चिनिन्छ।
सजिवन प्रायः तरकारीको रूपमा प्रयोग गरिन्छ, तर यसको सुप बनाएर सेवन गर्दा अझ प्रभावकारी मानिन्छ। सुप सेवनले शरीरलाई विभिन्न रोगबाट जोगाउन सहयोग गर्छ र समग्र स्वास्थ्यमा सकारात्मक असर पार्दछ।
‘मेडिकल न्यूज टुडे’ का अनुसार सजिवन पोषकतत्त्वले भरिपूर्ण एक महत्वपूर्ण खाद्यवस्तु हो। यसमा प्रशस्त मात्रामा भिटामिन ‘सी’, ‘ए’, ‘ई’, क्याल्सियम, आइरन, पोटासियम, म्याग्नेसियम र फाइबर पाइन्छ।
यसमा समावेश एन्टिअक्सिडेन्टले शरीरलाई फ्री रेडिकलको असरबाट जोगाउँछ, भने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। साथै, सजिवनमा प्रोटिन पनि उत्तिकै राम्रो मात्रामा हुन्छ, जुन शरीरको लागि अत्यावश्यक पोषक तत्व हो।
सजिवनको लाभहरू:
- सजिवनमा क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ, जसले हड्डीहरू मजबुत बनाउँछ। यसको सुप सेवनले हड्डीको घनत्व कायम राख्न मद्दत गर्छ र ओस्टियोपोरोसिस जस्ता समस्याको जोखिम घटाउँछ। साथै, हड्डी कमजोर हुने र जोर्नी दुख्ने समस्यामा पनि राहत दिन्छ।
- रोग प्रतिरोधात्मक क्षमतामा सुधार ल्याउन पनि सजिवनको सुप प्रभावकारी हुन्छ। यसमा पाइने भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्टले शरीरलाई संक्रमणसँग लड्न सहयोग पुर्याउँछ र कोशिकालाई क्षतिबाट बचाउँछ।
- सजिवनको सुप पाचन प्रणाली सुधार्न उपयोगी हुन्छ। यसको फाइबरले कब्जियत कम गर्छ, आन्द्रा सफा राख्छ, अपच र एसिडिटी जस्ता समस्याबाट राहत दिन्छ र समग्र पाचन प्रणालीलाई मजबुत बनाउँछ।
- कलेजोको लागि पनि सजिवन उपयोगी मानिन्छ। यसले विषाक्त पदार्थहरू हटाउन मद्दत गर्छ र कलेजोको कार्यसम्पादनमा सुधार ल्याउँछ। साथै, यसमा रहेका क्याल्सियम, आइरन र भिटामिन ‘सी’ बालबालिका र किशोरहरूका लागि शारीरिक विकासमा सहयोग पुर्याउँछन्।
- मधुमेहका बिरामीहरूका लागि सजिवन लाभदायक छ। यसको फाइबर र एन्टिअक्सिडेन्टले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न सहयोग गर्छ। यसले इन्सुलिनको प्रभावकारिता बढाउँछ र चिनीको स्तरलाई स्थिर राख्न मद्दत गर्छ। साथै, यो सुप श्वासप्रश्वाससम्बन्धी समस्याहरूमा पनि उपयोगी हुन सक्छ।