हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा बालबालिकाले सहजै चुरोट खरिद गर्न सक्ने अवस्था रहेको तथ्य सार्वजनिक भएको छ। नगर बाल सञ्जाल हेटौंडाले सञ्चालन गरेको विशेष अनुगमन तथा अवलोकन अभियानका क्रममा विद्यालय तथा क्याम्पस आसपासका अधिकांश पसलले बालबालिकालाई नै चुरोट बिक्री गरिरहेको भेटिएको हो।

शनिबार हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र सिद्धार्थ माध्यमिक विद्यालय वरपर गरिएको अनुगमनमा बाल सञ्जालमा आबद्ध बालबालिकाहरू ग्राहक बनेर विभिन्न पसलमा पुगेका थिए। अनुगमनका क्रममा खाजाघर, किराना पसल तथा अन्य व्यवसायिक प्रतिष्ठानले कुनै सोधपुछ नगरी बालबालिकालाई चुरोट बिक्री गरेको पाइएको सञ्जालले जनाएको छ।

अभियानअन्तर्गत करिब १५ वटा पसलमा पुगेर अवलोकन गरिएको थियो। अनुगमनमा सहभागी बालबालिकाहरूका अनुसार कानुनले उमेर नपुगेका बालबालिकालाई सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको छ।

नगर बाल सञ्जालले सञ्चालन गरेको उक्त अभियानमा हेटौंडा उपमहानगरपालिका र बाल हेल्पलाइन (सिविन) को समन्वय रहेको थियो। अनुगमन टोलीले पहिलो चरणमा सम्बन्धित व्यवसायीलाई सचेत गराउँदै बालबालिकालाई चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ बिक्री नगर्न आग्रह गरेको छ। साथै, आगामी दिनमा पुनः अनुगमन गर्दा यस्ता गतिविधि दोहोरिएको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

नगर बाल सञ्जालका प्रतिनिधिहरूले बालमैत्री सहरको अवधारणालाई व्यवहारमा उतार्न स्थानीय सरकार, विद्यालय, अभिभावक तथा व्यवसायी सबैको साझा जिम्मेवारी रहेको बताएका छन्। बालबालिकालाई सुर्तीजन्य पदार्थको पहुँचबाट टाढा राख्न यस्ता सचेतनामूलक तथा अनुगमन अभियानलाई निरन्तरता दिइने उनीहरूको भनाइ छ।

बालमैत्री स्थानीय शासनको अभ्यास भइरहेको दाबी गरिँदै आएको हेटौंडामा विद्यालय र क्याम्पस नजिकैका पसलले बालबालिकालाई खुलेआम चुरोट बिक्री गरिरहेको तथ्य सार्वजनिक भएपछि सम्बन्धित निकायको अनुगमन तथा कानुन कार्यान्वयनको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।