हेटौंडा/‘एक वडा—एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत् मकवानपुरगढी गाउँपालिका—३ मा सञ्चालित समुदायमा आधारित गाईपालनका कारण उत्पादन, स्थानीयको आम्दानी र सामूहिक भावनाको सक्रिय विकास भएको पाइएको छ । गाउँमा संघीयता कार्यान्वयनको उक्त व्यवहारिक पक्षले वडालाई व्यावसायिक दुग्ध उत्पादन क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य केही समयमै प्राप्त हुने सम्भावना देखिएको हो ।

उक्त कार्यक्रमअन्तर्गत् प्रभावकारिता अनुगमनका लागि कृषकको गाईगोठमै पुगेर स्थलगत् अनुगमन तथा मूल्यांकन गरिएको छ । प्रदेश सरकारको ६० प्रतिशत्, मकवानपुरगढी गाउँपालिकाको २० प्रतिशत् अनुदान र किसानको २० प्रतिशत् लागत साझेदारीमा सञ्चालित कार्यक्रमले स्थानीयस्तरमा दूध उत्पादन वृद्धि र व्यावसायिक पशुपालन विस्तारमा सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालिए पनि यसको पहुँच अझै विपन्न तथा कमजोर वर्गसम्म पर्याप्तरुपमा पुग्न नसकेको सरोकारवालाले बताएका छन् ।

पशुसेवा कार्यालय मकवानपुर, मकवानपुरगढी गाउँपालिका र श्रमिक साना किसान कृषि सहकारी संस्थाको संयुक्त टोलीले कृषकका घरघरमा पुगेर गाईको अवस्था, गोठ व्यवस्थापन, पशु स्वास्थ्य, उत्पादन स्थिति तथा कार्यक्रमको प्रभावकारिताबारे अनुगमन गरेको हो । अनुगमन टोलीको नेतृत्व पशुसेवा कार्यालय मकवानपुर प्रमुख वरिष्ठ पशुसेवा विकास अधिकृत डा. रामप्रकाश प्रधानले गरेका थिए । टोलीमा वडा—३ का अध्यक्ष भागवत् घिमिरे, पशुविकास अधिकृत अबिता सापकोटा, पशु निरीक्षक डा. विजय पौडेल, श्रमिक साना किसान कृषि सहकारी अध्यक्ष निर्मला लम्साल, मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जनप्रसाद दाहाल, पालिका पशु शाखा प्रमुख सत्यनारायण शाह, लेखा अधिकृत रामकृष्ण श्रेष्ठ, साना किसान लघुवित्त वित्तीय बहुउद्धेश्यीय सहकारीका शाखा प्रवन्धक भोलानाथ रेग्मी, वडा—३ की सचिव सोनिका अर्यालदाहाल, पशुसेवा कार्यालयका प्रभुनारायण चौधरी, पत्रकार एमपी शर्मालगायतको सहभागिता थियो ।

अनुगमनपछि डा.प्रधानले कार्यक्रमको उद्धेश्यअनुसार कृषकले अनुदान रकमबाट गाई खरिद गरेनगरेको, पशुपालनलाई आयआर्जनसँग जोड्न सकेनसकेको तथा कार्यक्रम मापदण्डअनुसार कार्यान्वयन भएनभएको मूल्यांकन गर्न स्थलगत् अनुगमन गरिएको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा मकवानपुरगढी गाउँपालिका—३ र बकैया गाउँपालिका—५ मा उक्त कार्यक्रम सञ्चालनमा छ ।

कार्यक्रम सञ्चालन गरिरहेको श्रमिक साना किसान कृषि सहकारी संस्था अध्यक्ष लम्सालका अनुसार प्रदेश सरकारको ‘एक वडा—एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत् आर्थिक वर्ष २०८१÷०८२ मा ६४ कृषकलाई गाई वितरण गरिएको थियो भने चालु आर्थिक वर्ष २०८२÷०८३ मा थप ६३ कृषकलाई एकएक वटा गाई उपलब्ध गराइएको छ ।

उनले कार्यक्रमको दीर्घकालीन लक्ष्य वडालाई व्यावसायिक दुग्ध उत्पादन क्षेत्रका रुपमा विकास गर्न रहेको बताइन् । ‘सहकारीले किसान, स्थानीय सरकार र पशुसेवा कार्यालयबीच समन्वयकारी भूमिका निर्वाह गरेको छ,’ उनले भनिन्—कार्यक्रम सञ्चालनपछि वडामा दूध उत्पादन करिब २५ प्रतिशत् वृद्धि भएको प्रारम्भिक तथ्यांकले देखाएको छ । प्रदेश सरकारले कार्यक्रमलाई निरन्तरता दिए आगामी पाँच वर्षभित्र पशुपालनमा संलग्न अधिकांश किसानको घरमा कम्तिमा एक उन्नत जातको गाई पु¥याउने लक्ष्य रहेको उनले बताइन् ।

अनुगमनका क्रममा पशु निरीक्षक डा. पौडेलले अधिकांश कृषकले गाईको राम्रो स्याहारसुसार गरेको, गोठ व्यवस्थापनमा सुधार आएको तथा पशु स्वास्थ्यप्रति सचेतना बढेको पाइएको बताए । कृषकहरुले मुख्यतः होलिस्टिन र जर्सी जातका गाई खरिद गरेको पाइएको उनले जानकारी दिए । मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष दाहालले कार्यक्रमले दूध उत्पादन वृद्धि र व्यावसायिक पशुपालन विस्तारमा योगदान पु¥याए पनि यसको प्रभावकारिता बढाउन थप सुधार आवश्यक रहेको बताए । उनका अनुसार उन्नत नश्लका पशु व्यवस्थापन, असल पशुपालन अभ्यास, प्राविधिक सचेतना तथा उत्पादनमुखी अनुदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउनपर्ने आवश्यकता छ ।

दाहालले कार्यक्रमको पहुँच अझै कमजोर आर्थिक अवस्था भएका किसानसम्म पर्याप्तरुपमा पुग्न नसकेको उल्लेख गर्दै अनुदान प्राप्त गर्न सहकारीको सदस्य बन्नुपर्ने व्यवस्थाले पनि कतिपय किसानलाई सहभागी हुन कठिनाइ भएको बताए । ‘दूध उत्पादन बढाउन कार्यक्रम सफल देखिएको छ । तर, स्थानीय सरकारले अपनत्व लिएर नेतृत्वदायी भूमिका निर्वाह नगरेसम्म यसको दीर्घकालीन प्रभाव सीमित हुनसक्छ,’ उनले भने—किसानलाई थप व्यावसायिक र आत्मनिर्भर बनाउन पशुपालन, उत्पादन, बजारीकरण र प्राविधिक सेवाबीच एकीकृत कार्यनीति आवश्यक छ । कार्यक्रमबाट लाभान्वित कृषकहरुले अनुदानले पशुपालन व्यवसाय विस्तार गर्न महत्वपूर्ण सहयोग पुगेको बताएका छन् । मकवानपुरगढी—३ मक्राञ्चुलीस्थित एकीकृत बहुउद्धेश्यीय कृषि फार्म सञ्चालक सीता ढुंगानाले अनुदानका कारण गाई खरिद गर्न सहज भएको र दूध उत्पादन तथा आम्दानी दुवै बढेको बताइन् ।

‘पहिले यस्तो सहयोग पाएका थिएनौं,’ उनले भनिन्—अनुदानपछि पशुपालनप्रति उत्साह बढेको छ । दूध उत्पादन बढेको छ, आम्दानी पनि राम्रो भएको छ । अब दूधको उचित मूल्य र पशु दानामा सहुलियतको व्यवस्था भए किसानलाई थप राहत मिल्ने थियो । अनुगमनमा सहभागी सरोकारवालाले कार्यक्रमले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, दूध उत्पादन वृद्धि तथा कृषकको आयआर्जनमा सकारात्मक प्रभाव पारेको निष्कर्ष निकाल्दै पशु स्वास्थ्य सेवा विस्तार, प्राविधिक परामर्श, बजारीकरण र स्थानीय तहको सक्रिय सहभागिता थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । प्रदेश सरकारको महत्वाकांक्षी कार्यक्रमले अपेक्षित उपलब्धि हासिल गर्न स्थानीय सरकार, सहकारी संस्था र कृषकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरुको जोड थियो ।