हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले आयोजना गरेको अबिरकेशरी बनाउने तालिम बिहीबार सम्पन्न भएको छ । तालिम जेठ १२ गते उद्घाटन गरिएको थियो ।

हेटौंडा उपमहानगरपालिका कार्यालयको आर्थिक सहकार्यमा आयोजित १५ दिने तालिम समितिका सभापति सीतादेवी भेटवालको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका प्रवक्ता÷हेटौंडा-१ का अध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले तालिमका प्रशिक्षार्थीहरुलाई उद्योग दर्ता गरी उत्पादन शुरु गर्न आग्रह गर्दै अनलाइन प्रचारको सहायता लिन, मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोग लिन प्रेरित गरे । उत्पादनको गुणस्तर कायम गर्दै मार्केटिङका उपायहरु अपनाइ दीगो सञ्चालनमा लाग्न उनको आग्रह थियो । ढाकाको कपडा उत्पादन, ड्रागनफ्रुट खेती र गुन्द्रुक उत्पादन कार्यलाई पालिकाले प्रवद्र्धन गरेको र सफल देखिएको उनले बताए ।

समापन कार्यक्रममा सभापति भेटवालले तालिमबाट प्राप्त सिप प्रमाणपत्रमा मात्र सीमित नराखी उत्पादनमा लाग्न आग्रह गरिन् । थोरै परिमाणमा उत्पादन घरमै गर्न सकिने र व्यावसायिक उत्पादनका लागि उपकरणहरु आवश्यक पर्ने देखिएको उनको भनाइ थियो । महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न हेटौंडा उपमहानगरपालिबाट बजेट व्यवस्था गरिदिन उनले आग्रह गरिन् ।

तालिमको बीचमा बैंकका प्रतिनिधिबाट बैंकिङ विषय, सफल उद्यमीका तर्फबाट व्यावसायिक मार्गदर्शन, उत्पादनका लागि आवश्यक उपकरणबारे जानकारी र स्टार्टअप कर्जा जस्ता उद्यम सञ्चालनका लागि महत्वपूर्ण जानकारीहरु फरकफरक विज्ञहरुबाट प्रदान गरिएको थियो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ पूर्वअध्यक्ष राजकुमार न्यौपाने, महासचिव प्रतिमा श्रेष्ठ, कोषाध्यक्ष तेजराज अधिकारी, महिला उद्यमी विकास समिति पूर्वसभापति तथा संघका सहकोषाध्यक्ष निलम वैद्य, प्रमुख प्रशिक्षक रुशन घिमिरे, समिति सचिव सुनिता श्रेष्ठहाडा र प्रशिक्षार्थीका तर्फबाट सुमित्रा श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रमका प्रशिक्षार्थी ४२ जनालाई प्रमुख अतिथि प्रवक्ता न्यौपानेले प्रमाणपत्र प्रदान गरेका थिए ।

उद्घाटन कार्यक्रमको अध्यक्षता महिला उद्यमी विकास समितिका सभापति भेटवालले गरेकी थिइन् भने कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले रहिन् । कार्यक्रमका विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्ष कृष्णकुमार गुप्ता थिए ।

पूजा, अनुष्ठान र मांगलिक कार्यहरुमा प्रयोग गरिने अबिरकेशरी पहेंलो रङको पवित्र टीका वा पाउडर हो । यसलाई हिन्दु परम्पराअनुसार देवताको पूजा गर्दा र शुभकार्यहरुमा निधारमा लगाउन प्रयोग गरिन्छ । यो धार्मिक कार्यहरुमा निकै महत्वपूर्ण मानिन्छ । नेपालका विभिन्न स्थानहरुमा यसको प्रयोग र गुणस्तरलाई लिएर कार्यक्रमहरु हुने गरेका छन् ।