हेटौंडा/ कृषि र पशुपालनलाई केवल जीविकोपार्जनको माध्यममात्र होइन, सम्मानजनक व्यवसायका रुपमा स्थापित गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मकवानपुरगढी गाउँपालिका—३, मक्राञ्चुलीका टंकप्रसाद ढुंगेल । भैंसीपालन र प्रांगारिक मल उत्पादनलाई एकसाथ अघि बढाउँदै आएका ढुंगेलले ग्रामीण क्षेत्रमा पनि मेहनत, लगनशीलता र दुरदृष्टि भए सफल व्यवसाय गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।

२०७६ सालमा स्थापना गरिएको हजुरको बहुउद्धेश्यीय पशु तथा कृषि फार्म हाल मकवानपुरगढीको नमूना भैंसीपालन उद्यमका रुपमा परिचित बन्दै गएको छ । करिब एक करोड लगानीमा सञ्चालन भइरहेको फार्ममा हाल सानाठूला गरी ३५ वटा भैंसी छन् । तीमध्ये १७ वटा भैंसीले दैनिक करिब १ सय ३० लिटर दूध दिइरहेका छन् । केही भैंसी ब्याउने चरणमा रहेकाले उत्पादन केही घटेको भए पनि व्यवसाय निरन्तर विस्तारको क्रममा छ ।
ढुंगेलले उत्पादन गरेको दूध आफ्नै बजारस्थित पसल, खुवा पसल तथा मनकामना दूध उत्पादन सहकारी संस्थामार्फत् बिक्री गर्दै आएका छन् । उनले प्रतिलिटर १ सय १० रुपियाँका दरले दूध बिक्री गर्दै आएका छन् । उत्पादनदेखि बजारीकरणसम्मको अधिकांश जिम्मेवारी उनी आफैं सम्हाल्ने गरेका छन् । गाउँघरमा अधिकांश किसान गाईपालनतर्फ आकर्षित भइरहेका बेला ढुंगेलले भने भैंसीपालन रोजे । उनको अनुभवमा गाईभन्दा भैंसीपालन तुलनात्मकरुपमा सहज र लाभदायक छ । व्यवसायमा उनकी पत्नी र एक छोराले पूर्णसाथ दिएका छन् । सवेरैदेखि साँझसम्म परिवारका सदस्यहरु भैंसीको स्याहारसुसार, दूध दुहूनेदेखि बजारसम्म पु¥याउने काममा व्यस्त रहन्छन् । परिवारको यही मेहनतले फार्मलाई सफलताको उचाईंतर्फ डो¥याइरहेको छ ।
मेहनतअनुसार आम्दानी सन्तोषजनक भए पनि ऋणलगानीमा व्यवसाय विस्तार गरेका कारण आर्थिक दायित्वले बेलाबेलामा दबाब सिर्जना गर्ने गरेको ढुंगेल बताउँछन् । तर, चुनौतीबीच पनि उनी निराश छैनन् । बरु, पशुपालनसँगै थप सम्भावना खोज्दै उनले भैंसीको मलमूत्रलाई उपयोग गरेर प्रांगारिक मल उत्पादन उद्योगसमेत सञ्चालन गरेका छन् ।
करिब २० लाख लगानीमा स्थापना गरिएको उद्योगका लागि ज्ञानकेन्द्रबाट मेसिन खरिदमा ६ लाख अनुदान प्राप्त भएको थियो भने बाँकी रकम उनको आफ्नै लगानी हो । उद्योगबाट उत्पादन भएको प्रांगारिक मल मकवानपुरगढीसहित आसपासका किसानसम्म पुग्न थालेको छ । उनले प्रतिबोरा ५ सयका दरले मल बिक्री गरिरहेका छन् भने हेटौंडाको सानोपोखराम्मा रहेको पसलबाट प्रतिकिलो २० रुपियाँका दरले खुद्रा बिक्रीसमेत गर्दै आएका छन् ।
तर, उद्योग सञ्चालनमा एउटा गम्भीर समस्या छ—विद्युत् भोल्टेज अभाव । उद्योगसम्म पुग्ने विद्युत् आपूर्ति कमजोर भएकाले मेसिन नियमित सञ्चालन गर्न कठिन हुने गरेको उनको गुनासो छ । करिब १ सय ३० मिटर टाढाबाट कालो तार तानेर मिटर बक्स राख्नुपरेको छ । ‘थप चार वटा पोल विस्तार भयो भने नजिकबाट विद्युत् जडान गर्न सकिन्थ्यो,’ उनी भन्छन् । यदि पर्याप्त भोल्टेज उपलब्ध हुने हो भने उद्योगलाई थप विस्तार गरी डीएपी कम्पोष्ट मल उत्पादनमा समेत जाने योजना रहेको उनको भनाइ छ ।
ढुंगेलका अनुसार किसानहरुले अझै पनि प्रांगारिक मलको महत्व पूर्णरुपमा बुझ्न सकेका छैनन् । रासायनिक मलको तुलनामा प्रांगारिक मलले माटोलाई खुकुलो बनाउने, उर्वराशक्ति बढाउने र एकपटक प्रयोग गर्दा दुई बालीसम्म लाभ दिने भएकाले यसको प्रयोग बढाउनुपर्ने आवश्यकता रहेको उनी बताउँछन् । विशेषगरि पछिल्लो समय मकवानपुरगढी क्षेत्रमा विस्तार हुँदै गएको ड्रागनखेतीका लागि उक्त मल अत्यन्त उपयोगी हुने उनको दाबी छ । प्रांगारिक मलको प्रभावबारे किसानलाई जानकारी गराउन उनले इच्छुक किसानलाई १ बोरासम्म मल निःशुल्क उपलब्ध गराउने घोषणासमेत गरेका छन् ।
व्यवसायलाई अझ व्यवस्थित बनाउन स्थानीय सरकारको सहयोग आवश्यक रहेको ढुंगेलको भनाइ छ । फार्मसम्म पुग्ने सडक स्तरोन्नति, उद्योग क्षेत्रसम्म स्ल्याब ढलान तथा विद्युत् संरचना सुधार भए व्यवसाय सञ्चालनमा ठूलो सहजता हुने उनी बताउँछन् । स्थानीय जनप्रतिनिधि र सरकारी निकायले समयसमयमा फार्मको अनुगमन गरी हौसला प्रदान गरे किसानमा थप ऊर्जा र उत्साह जाग्ने उनको विश्वास छ । सरकारले किसानका पक्षमा अपेक्षितरुपमा काम गर्न नसकेको अनभव सुनाउँदै ढुंगेल कृषिमा आधारित अर्थतन्त्र निर्माणका लागि विशेष नीतिगत् व्यवस्था आवश्यक रहेको बताउँछन् । किसानलाई शून्य प्रतिशत् ब्याजदरमा ऋण उपलब्ध गराउने, पशुबीमाको व्यवस्था सरकारले नै सुनिश्चित गर्ने र उत्पादनमुखी कृषिलाई प्राथमिकतामा राख्ने हो भने गाउँमै रोजगारी सिर्जना भइ आर्थिक समृद्धिको आधार तयार हुने उनको धारणा छ ।
कृषि र पशुपालनप्रति दृढ विश्वास, परिवारको अथक् साथ र निरन्तर परिश्रमका कारण ढुंगेल मकवानपुरगढीका सफल पशुपालक व्यवसायीका रुपमा स्थापित भएका छन् । चुनौती अनेक भए पनि उत्पादन र उद्यमशीलताको यात्राबाट उनी पछि हटेका छैनन् । बरु, उनको संघर्ष गाउँमै बसेर सम्भावनाको खेती गर्न चाहने धेरै किसानका लागि प्रेरणाको स्रोत बनेको छ ।












