हेटौँडा/चैनपुर जेसीज मनहरीको आयोजनामा यहि असोज १७ गतेबाट चौथो संस्करणको खुला फुटबल प्रतियोगिता हुने भएको छ । जेसीजको सौराहामा बसेको तेस्रो बोर्ड बैठकले फुटबल प्रतियोगिताको मिति तय गर्दै आवश्यक तयारीलाई अघि बढाउने निर्णय गरेको हो । मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा हुने प्रतियोगिता ४ नम्बरकै गोलघर खेल मैदानमा सन्चालन हुनेछ । प्रतियोगिताको विजेताले १ लाख एक हजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जेसीजका अध्यक्ष सुरेश गौतमले जानकारी दिए । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा अन्य विधागत उत्कृष्टलाई जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको गौतमले बताए । हरेक खेलको म्यान अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता सन्चालनका लागि कार्यकारिणी उपाध्यक्ष नवराज रिजाललाई संयोजनको जिम्मेवारी प्रदान गरिएको छ । मकवानपुरको पश्चिमी क्षेत्रमा कृयाशिल युवाहरुको संस्था चैनपुर जेसीजले स्थापनाकालदेखी नै जेसीज कप खुला फुटबलको आयोजना गर्दै आएको छ । ‘स्थापना वर्षदेखी नै हाम्रो शाखाले जेसीज कप खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिँदैछौं’, अध्यक्ष गौतमले भने, ‘मुख्य प्रायोजक मनहरी ४ नम्बर वडा सहित सहयोगी सबै संघसंस्था प्रति आभारी छौं ।’ मनहरी ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाले फुटबल प्रतियोगिताका लागि जेसीजसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । प्रतियोगिताको पहिलो संस्करण बागमती प्रदेश प्रहरी कार्यालयले जित्दा दोस्रो र तेस्रो संस्करणको उपाधी भने मकवानपुरगढी जेसीजले जितेको थियो । जेसीजको बैठकमा संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्ष रविन ढकाल, निवर्तमान अध्यक्ष श्रीकृष्ण ढकाल, बोर्ड सल्लाहकार वसन्तकुमार सिटौला, हेटौंडा जेसीजका पूर्व अध्यक्ष दीपकराज मिश्रलगायतको उपस्थिति रहेको थियो ।










