हेटौंडा/नेपाली कांग्रेस मकवानपुरले शिक्षा, स्वास्थ्य र विद्युत् क्षेत्रमा लगाइएको कर फिर्ता लिन तथा सुकुम्बासी व्यवस्थापनमा मानवीय नीति अवलम्बन गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

सोमबार जिल्ला सभापति बुद्ध लामाको नेतृत्वमा कांग्रेसको टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको करले सर्वसाधारणमाथि थप आर्थिक भार परेको भन्दै तत्काल खारेज गर्न माग गरिएको छ। साथै विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाई विद्युत् उपभोगलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरिएको छ।

कांग्रेसले सुकुम्बासी व्यवस्थापनका क्रममा बल प्रयोग र डोजर परिचालन गरेर बस्ती हटाउने कार्य रोक्नुपर्ने उल्लेख गर्दै वैकल्पिक बसोबासको सुनिश्चितता भएपछि मात्र व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेको छ।

त्यसैगरी, प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको भनिएको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसबारे स्पष्ट पार्न वा उक्त भनाइ फिर्ता लिएर नेपाली जनतासँग माफी माग्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।

जनजीविकासँग प्रत्यक्ष सम्बन्धित विषयमा सरकारले तत्काल पुनर्विचार गरी माग सम्बोधन गर्नुपर्ने कांग्रेसको भनाइ छ। माग पूरा नभए संविधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत कांग्रेसले दिएको छ।