हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्चकटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाएर ८ कायम गरेको बताएका छन् । हेटौंडा–६ मा रहेको वीपी गणेशमान स्मृति शान्तिपार्क (पिसपार्क) उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू मुख्यमन्त्री भएदेखि आर्थिक मितव्ययिता र सुशासनको पक्षमा काम गरिरहेको बताउँदै यसकै परिणामस्वरुप हाल प्रदेशमा मन्त्रालयको संख्या घटाएको बताए । विगतमा १७ जनासम्म मन्त्री रहेको बागमती प्रदेशमा मन्त्रालय घटाएर ८ मा झारेको बताएका उनले प्रदेशमा संगठन तथा व्यवस्थापन संरचना छिटै टुंगो लगाएर मन्त्रालयअनुसार नै मन्त्रीको संख्या कायम हुने बताए । हाल केही मन्त्रीहरुलाई विषयगत् क्षेत्रको जिम्मेवारी दिएको भए पनि छिट्टै कार्यविभाजन टुंगिने उनको भनाइ छ ।
मुख्यमन्त्री बानियाँले पछिल्लो समय सामाजिकसञ्जालमा नकारात्मकता र गालीगलौजको संस्कृति बढेको र मोबाइल हेरेर ठीक÷बेठीक नछुट्याइ नकारात्मक टिप्पणी गर्ने प्रवृतिले देश विकासमा बाधा पु¥याउने बताए । उनले प्रदेश सरकार रहेकै कारण स्थानीय तहसम्म विकास पुगेको बताउँदै यसबारे सकारात्मक सन्देशप्रवाह गर्न प्रदेशबासीसँग आग्रह गरे । उनले प्रदेश सरकारले विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, गरिब परिवारलाई एक हजार घर बनाउने जस्ता काम गरिरहेको बताए ।
रानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष केशब धितालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडाका उपप्रमुख राजेश बानियाँ, कार्यबाहक वडा अध्यक्ष विजय पौडेल, डिभिजनल वन अधिकृत राकेश चन्द्रवंशी, पर्यटन विकास आयोजना हेटौंडा प्रमुख रोशन श्रीवास्तव, वन समूहका कोषाध्यक्ष गोमा लामिछाने, समाजसेवी भरत सापकोटा, समूह कार्यालय सचिव भीमसेन पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।












