हेटौँडा/मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्याम नजिक सिमखोलामा आएको बाढीले बगाएका स्कुटर चालक महेश कुमार कार्की मृत अवस्थामा फेला परेका छन्।
बाढीले स्कुटरसहित बगाएका कार्कीको शव बिहीबार बिहान घटनास्थलबाट करिब २ सय मिटर तल खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गर्ने क्रममा शव फेला पारेको हो।
गत सोमबार दिउँसो अविरल वर्षापछि सिमखोलामा आएको आकस्मिक बाढीले कार्कीलाई स्कुटरसहित बगाएको थियो। घटनापछि तत्काल खोजी सुरु गरिए पनि तीव्र बहाव र प्रतिकूल मौसमका कारण पहिलो दिन सफलता मिल्न सकेको थिएन।
मंगलबार बिहान भने बागमती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटर घटनास्थलबाट करिब २ सय मिटर तल क्षतिग्रस्त अवस्थामा भेटिएको थियो। त्यसपछि सुरक्षा निकायले खोजी कार्यलाई थप तीव्र बनाएका थिए।
यातायात व्यवस्था कार्यालयको अभिलेखअनुसार स्कुटर सर्लाही निवासी महेश कुमार कार्कीको नाममा दर्ता रहेको पुष्टि भएको थियो। बिहीबार शव फेला परेपछि परिवारका सदस्यले समेत कार्कीको पहिचान गरेका मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी माधव काफ्लेले जानकारी दिए।
प्रहरीका अनुसार शव खोलाको बहावसँगै बगेर बालुवा र लेदोले पुरिएको अवस्थामा फेला परेको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।











