काठमाडौं/इलामको चुलाचुली गाउँपालिकामा कार्यरत् एक इञ्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ पर्ने व्यक्ति चुलाचुली गाउँपालिकाका इञ्जिनियर डिल्लीराज खड्का हुन् ।

आयोगको टोलीले उनलाई बुधबार झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट ६ लाख घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार इञ्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहज बनाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख र हैरानी दिएर घुस मागेका थिए । सेवाग्राहीबाट घुस मागिएको उजुरीका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो । सोही क्रममा घुस रकम बुझ्दै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ । अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।