काठमाडौं/मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक आएसँगै देशभर वर्षा सक्रिय बनेको छ । सोमबार चितवनमा सबभन्दा धेरै २ सय १९ मिलिमिटर वर्षामापन भएको छ भने चुरे र तराईका अधिकांश क्षेत्रमा १ सय मिलिमिटरभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारि वर्षासँगै नदीमा बहाव बढ्ने, डुबान तथा बाढीपहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक बिनोद पोखरेलले पनि मनसुनको न्यूनचापीय रेखा नेपालको नजिक आएकाले राम्रो वर्षा भएको जानकारी दिए । उनका अनुसार अर्को साता पनि पुनः राम्रो वर्षा हुनसक्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार नेपालका प्रायः चुरेक्षेत्रमा सबभन्दा धेरै वर्षा भइरहेको छ । उक्त क्षेत्रमा प्रायः अधिकांश स्थानमा १ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । विशेषगरि तराई क्षेत्रमा धेरै भारि वर्षा भइरहेको छ । उनले भने–सोमबार चितवन आसपासमा धेरै वर्षा भइरहेको छ । कतै वर्षा हुने र कतै रोकिने भए पनि बुधबारदेखि मात्र वर्षा अलि कम हुनेछ । उनका अनुसार तराई क्षेत्रमा १ सय मिलिमिटरभन्दा बढी पानी परेपछि नदीको बहाव बढ्ने हुन्छ । तराईमा डुबान हुने हुन्छ । उनले कमजोर भूभागहरुमा पनि पहिरो जान सक्ने भएकाले सचेत हुनुपर्ने बताए ।

मनसुनको समय भएकाले एकदम ठूलो परिवर्तन नदेखिने र वर्षा भने भइरहने पनि विभागले जनाएको छ । मौसमविद् ढकालका अनुसार बागमती प्रदेशको काठमाडौं उपत्यकालगायत सिन्धुपाल्चोकआसपास, कोशी प्रदेश तथा गण्डकी प्रदेशका विभिन्न भूभागमा मध्यम वर्षा भइरहेको छ । सबभन्दा बढी चितवनआसपास क्षेत्रमा २ सय १९ मिलिमिटर वर्षा भएको देखिएको छ । देशमा हाल भइरहेको वर्षाको मुख्य कारण मनसुनी वायुको प्रभाव नै रहेको र अझ केही समयसम्म वर्षा जारी रहने ढकालले बताए ।

रातिको समयमा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा, लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशका पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारि वर्षाको सम्भावना छ भने गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही भूभागमा पनि भारि वर्षाको सम्भावना छ । वर्षाका कारण कमजोर भूभागमा पहिरो जान सक्ने, नदी तथा खोलाकिनारका क्षेत्रमा पानीको सतह बढ्दै जाँदा डुबानको समस्या आउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ । वर्षा कायम रहने र विशेषगरि देशको पश्चिमी भूभागमा भने कम स्थानमा वर्षा हुने सम्भावना छ ।

वर्षाको प्रकृति हेर्दा देशका विभिन्न भूभागमा कतै भारि वर्षा हुने र कतै थोरैमात्र पानी पर्ने देखिएको छ । मनसुनको समय भएकाले वर्षा हुनु सामान्य रहेको उनले बताए । जल तथा मौसम विज्ञान विभागले हालै सार्वजनिक गरेको अप्रिल महिनाको प्रतिवेदनले पनि यस वर्ष सुरुदेखि नै वर्षाको ढाँचा सामान्यभन्दा बढी रहेको देखाएको छ । विभागका अनुसार अप्रिल २०२६ मा देशभर औसत ८६.१ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, जुन बहुवर्षीय सामान्यभन्दा १४४.२ प्रतिशत बढी हो । कोशी, मधेस, बागमती तथा गण्डकी प्रदेशका अधिकांश भूभागमा ७५ मिलिमिटरभन्दा बढी वर्षा भएको थियो भने कोशी र गण्डकीका केही क्षेत्रमा वर्षा २ सय मिलिमिटर नाघेको थियो ।

सोही महिना सप्तरीको राजविराज स्टेसनमा सामान्यको तुलनामा सबभन्दा बढी १ हजार २ सय ६२ प्रतिशत् वर्षा दर्ता भएको थियो भने संखुवासभाको नुम स्टेसनमा महिनाभरिकै सबभन्दा बढी २८३.७ मिलिमिटर वर्षा भएको विभागको तथ्यांकमा उल्लेख छ । यसका अतिरिक्त झापाको केचना र गुल्मीको तम्घास स्टेसनमा एकदिने वर्षाको ऐतिहासिक उच्चतम् रेकर्डसमेत कायम भएको थियो ।