हेटौंडा । छिमेकी मुलुक भारतको सिक्किममा हरेक वर्ष आयोजना हुने गरेको इन्डिपेन्डेनस डे फुटबल प्रतियोगितामा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीले सहयोग पाएको छ । काठमाडौं महानगरपालिकाको मनास्लु वल्र्ड कलेजले प्रतियोगितामा सहभागी हुने एकेडेमी टोलीलाई करिब ३० हजार बराबरको आवश्यक जर्सी सहयोग गरेको हो ।

एकेडेमीका खेलाडीहरुका लागि कलेजका अध्यक्ष गेहेन्द्र लामाले २० थान जर्सी सहयोग गरेको एकेडेमीका फुटबल प्रशिक्षक तथा अध्यक्ष भीम लामाले जानकारी दिए । प्रतियोगिताको तयारीलाई थप उत्साहपूर्ण बनाउने उद्धेश्यले गरिएको सहयोगले खेलाडीको मनोबल बढाउने एकेडेमी अध्यक्ष लामाले बताए ।

‘सिक्किममा नेपाली फुटबलको पहिचान स्थापित गर्दै आएको एकेडेमीका लागि कलेजको सहयोग केवल जर्सीमात्र होइन, अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा मकवानपुरको प्रतिनिधित्व गर्ने टोलीप्रतिको विश्वास र हौसलाको प्रतीकसमेत बनेको छ,’ प्रशिक्षक लामाले भने । एकेडेमी टोली ३ वर्षदेखि इन्डिपेन्डेनस डे फुटबल प्रतियोगितामा सहभागी हुँदै आएको छन् । पहिलो पटक प्रतियोगितामा सहभागी हुँदा उपविजेता बनेको एकेडेमीले लगातार दोस्रो र तेस्रो पटक भने विजेता बनेर एक लाख पुरस्कार राशि, मेडल तथा प्रमाणपत्र जितेको थियो ।

यस वर्ष पनि एकेडेमी टोली सिक्किमको मुनसोङ, नाम्ची जिल्लाको भाइचिङ भुटियाको फुटबल प्रतियोगिता, पायोङ जिल्लास्थित रम्फोको फुटबल प्रतियोगितालगायत अन्य विभिन्न प्रतियोगितामा सहभागी हुने प्रशिक्षक लामाले बताए ।

एकेडेमी टोली फुटबल प्रतियोगितामा सहभागी हुन २० खेलाडी, अफिसियल, टिम म्यानेजर र टिम प्रशिक्षकसहित २५ सदस्य जुलाई ३० अर्थात् साउन ३० गते सिक्किम प्रस्थान गर्ने प्रशिक्षक लामाले बताए । गत वर्ष सिक्किमको मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा सम्पन्न ७९ औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको फाइनलमा आदर्श युथ क्लब सिङ्तामलाई ४–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले दोस्रो पटक उपाधि जितेको थियो ।