मकवानपुर । बागमती प्रदेश प्रमुखको जिम्मेवारीबाट बिदा भएका यादव चन्द्र शर्माले शुक्रबार नव नियुक्त प्रदेश प्रमुखको जिम्मेवारी लिई आएका दीपक प्रसाद देवकोटालाई स्वागत गरे । निवर्तमान भइसकेपनि शर्मा प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेशसभाका सभामुख भुवनकुमार पाठक, सरकारका मन्त्री लगायतसँगै नयाँ प्रदेश प्रमुख देवकोटाको स्वागतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । राष्ट्रपतिले प्रदेश प्रमुख परिवर्तन गर्दा काठमाडौंमै रहेका शर्मा नयाँ प्रदेश प्रमुखलाई स्वागत गर्न विहानै हेटौंडा आइपुगेका थिए । नयाँ प्रमुख देवकोटाले विगतका परिपाटी भन्दा पृथक रुपले निवर्तमान प्रदेश प्रमुखबाट स्वागत तथा आतिथ्यता पाए । विगतमा निवर्तमान भई जाने प्रदेश प्रमुखले यस खालको स्वागत तथा पदस्थापनामा सहभागिता गराउने गरेका थिएनन् । शर्माले नयाँ प्रदेश प्रमुखलाई कार्यालयमा स्वागत गर्दै पदस्थापना सहभागिता जनाए अनि बधाई दिए । उनले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण कार्यहरुबारे नव नियुक्त प्रदेश प्रमुखलाई सुनाए पनि । नयाँ प्रदेश प्रमुख देवकोटालाई एक विशेष समारोहका बीच भव्य स्वागत एवम् बधाई ज्ञापन गरियो भने निवर्तमान प्रदेश प्रमुख शर्मालाई बिदाई गरियो ।

स्वागत तथा बिदाई समारोहमा निवर्तमान र नवनियुक्त दुवैले आफूहरु राजनीतिक सहयात्री भएको भन्दै एकले अर्कालाई साथ दिँदै अगाडी बढ्नुपर्ने बताए । आफ्नो कार्यकालमा गरिएका विभिन्न महत्वपूर्ण कार्यहरुबारे निवर्तमान प्रदेश प्रमुख शर्माले अवगत गराउँदा प्रदेश प्रमुख देवकोटाले त्यसलाई अनुशरण गरी अघि बढ्ने प्रतिबद्घता व्यक्त गरे । विगतमा एक प्रदेश प्रमुखले अर्को प्रदेश प्रमुखलाई औपचारिक रुपमा यस खालको वातावरणमा आफ्नो कार्यकालको उपलब्धि र आफ्ना योजनाहरुबारे जानकारी आदान प्रदान गर्ने गरिएको पाइएको थिएन ।
शर्मा प्रदेश प्रमुखका रुपमा २०७८ भाद्र ४ गते नियुक्त भएका थिए । प्रमुख शर्माको कार्यकालमा १८ ओटा विधेयकहरु प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकृत प्रकाश चापागाईँले बताए । यस्तै, प्रदेशस्तरको चिट्टा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण नगरी प्रदेशसभामा सन्देश सहित मिति गत वर्ष जेठमा शर्माले फिर्ता गरिदिएका थिए ।
प्रमुख शर्माको कार्यकालमा ११ ओटा अध्यादेश जारी भएको थियो भने केही प्राविधिक त्रुटिहरुका कारण प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी नगरिएको चापागाईँको भनाई छ ।

संविधानले निर्दिष्ट गरेका कार्यहरुबाहेक शर्माले आफ्नो कार्यकालमा विभिन्न सामाजिक कार्य तथा विपन्न उत्थानका लागि सहयोग पुग्ने कार्यक्रमको अगुवाई गरे । बागमती प्रदेशमा रहेका सिमान्त समुदाय वनकरिया, सुरेल र हायु समुदायको उत्थानका लागि आफ्नो तर्फबाट सघाउ पु¥याउने प्रयत्न गरे । मकवानपुरको मनहरी गाउँपालिकामा रहेको हांडीखोला ट्वाङ्ग्राका वनकरिया समुदायलाई उनीहरुकै नाममा जग्गा दिने गरी प्रदेश सरकारले बस्ती स्थानान्तरण गर्ने वातावरण बनाउन तत्कालीन राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारलाई आग्रह गरे । तर जग्गा प्राप्त हुन नसक्दा उनीहरुको वसोबासको स्थायी व्यवस्था हुन सकेन । दुई खोला विचको टापु, वन्यजन्तुको प्रकोप र चितुवा आतङ्कले गर्दा त्यो समुदायका बालबालिकाहरु नियमित स्कुल जान सक्ने अवस्था छैन ।

यस्तै, दोलखा जिल्लाको गौरिशङ्कर गाउँपालिकाको सुरीमा रहेको सुरेल समुदायका समस्याहरुको विषयमा गत वर्ष फागुणमा बस्तीमै पुगेर शर्माले अन्तरक्रिया गरे । यसपछि सुरीका विभिन्न ३ वटा विद्यालयमा अध्ययनरत सो समुदायका ४० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक, झोला, कापी, कलम विद्यालयलाई खेलकुद सामगी लगाएत करिब ६ लाख बराबरको सामग्री संरचना नेपाल नामक संस्थाले उपलब्ध गरायो र यो सहयोगलाई प्रत्येक शैक्षिक सत्रमा निरन्तरता दिने सहमती भएको छ ।

यही समयमा बुढानिलकण्ठ विद्यालय काठमाडौमा कक्षा ५ मा २ जना सुरेल विद्यार्थीलाई छात्रवृती सहित पढन व्यवस्था गरिएकोमा १ जना मात्र योग्य विद्यार्थी पाईएको र त्यसमा पनि छात्रा भएकाले अभिभावकहरुको रुची नदेखिएकोले अवसर प्राप्त हुन नसकेको शर्माले बताए ।
यस्तै, प्रमुख शर्माको अगुवाईमा देशका सात वटै प्रदेशका प्रदेश प्रमुखहरुको सहभागितामा चितवनको सौराहमा बैठक आयोजना गराए । सन्तुलित प्रादेशिक विकास गर्न, प्राकृतिक स्रोत साधनको दिगो उपयोग गर्न, स्वदेशमा नै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न, कृषी उपज बढाउन स्वदेशी पूँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न, नवप्रवर्तनलाई प्रोत्साहन गर्नका लागी आवश्यक नीति र योजना तयार गर्न, उद्यमशीलताको विकास गर्ने आधारहरु तयार गर्न र प्रदेशहरुको आन्तरिक आय वृद्धि गरी स्रोत परिचालन गर्ने फराकिलो आधार तयार गर्न लगायतका उद्घेश्यसहित प्रदेश प्रमुखहरुको संयुक्त भेलाको आयोजना गरिएको शर्माको भनाई छ ।

यस्तै, प्रदेश प्रमुख शर्माले २०८१ मंसिरमा चिनको युनान प्रान्तको भ्रमण गरे । भ्रमणमा बागमती प्रदेश र युनान प्रदेशको बिचमा भगिनी सम्बन्ध स्थापना गर्ने, आधुनिक कृषी प्रणाली, टनेल इन्जिनियरिङ र डेटाबेस इन्फर्मेसन टेक्नोलोजी सम्बन्धी उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुका लागि युनान विश्वविद्यालयमा भर्ना लिने विषयमा र हेटौडा उपमहानगरपालिका तथा कुन्मीङ महानगरपालिका बिच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा कुराकानी भएको शर्मा बताउँछन् ।
प्रमुख शर्माको कार्यकालमा बागमती प्रदेशमा ३ जना मुख्यमन्त्रीले पद तथा गोपतियताको सपथ ग्रहणं गरे । बागमती प्रदेशसभामा ३ वटा नीती तथा कार्यक्रम प्रस्तुत गरिएको थियो भने निर्वाचन पछाडि बनेको प्रदेश सभालाई सम्बोधन गरिएको निवर्तमान प्रदेश प्रमुख शर्माले बताए ।