हेर्टौंडा । विश्व वातावरण दिवस २०८३ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् हेटौंडा उपमहानगरपालिकाको सहयोग, टोलविकास संस्था नगर समन्वय समितिको आयोजना तथा टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा—८ को व्यवस्थापनमा आयोजित ‘फोहोर खोज चुनौती’ सम्पन्न भएको छ ।

हेटौंडा—८ मा आयोजित कार्यक्रममा १९ वटा टोलविकास संस्थाका ३८ वटा समूहको सक्रिय सहभागिता थियो । सहभागी समूहले आफ्नो क्षेत्रबाट अजैविक फोहोर संकलन गरी जम्मा २ हजार २ सय केजी फोहोर व्यवस्थापनका लागि संकलन गरेका छन् ।

प्रतियोगिताको नतिजाअनुसार कालिका टोलविकास संस्था प्रथम, विकास टोल द्वितीय तथा मनकामना टोल तृतीय भएका छन् । कालिका टोल, मनकामना टोल, विन्दबासिनी टोल र सिर्जना टोल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा प्रथम हुने समूहलाई १० हजार, द्वितीयलाई ७ हजार ५ सय, तृतीयलाई ५ हजार तथा सान्त्वना प्रत्येक समूहलाई २ हजार ५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उक्त पुरस्कारहरु विश्व वातावरण दिवस (जेठ २२ गते) आयोजित विशेष समारोहमा वितरण गरिने कार्यक्रम छ ।

कार्यक्रममा सहभागी टोलविकास संस्था, स्वयम्सेवक तथा स्थानीयले वातावरण संरक्षण, फोहोर व्यवस्थापन र सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमले समुदायस्तरमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकको भनाइ छ ।

टोलविकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथि थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा—८ का सदस्य गोरख राय, नगर समन्वय समिति सचिव तथा कार्यक्रम संयोजक सुशीला मल्ल, वडा समन्वय समिति अध्यक्ष कुमार केसीलगायतको आतिथ्यता थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले वातावरण संरक्षणका लागि समुदायस्तरबाट सञ्चालन गरिएका यस्ता अभियानले नागरिकमा जिम्मेवारीबोध गराउने र स्वच्छ समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे । कार्यक्रमका अधिकारीले प्लास्टिकजन्य तथा अन्य अजैविक फोहोरको उचित व्यवस्थापन आवश्यक रहेको बताउँदै स्वच्छ, हरियाली र प्लास्टिकमुक्त हेटौंडा निर्माणका लागि टोलस्तरबाट अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।