हेटौंडा । सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना, फेक आइडी र अपुष्ट सामग्रीका कारण समाजमा भ्रम, अविश्वास र मानसिक तनाव बढ्दै गएको भन्दै युवापुस्ताले आधिकारिक सूचना र विश्वसनीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

जनपत्र मिडिया प्रालिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ को आयोजनामा तथा संसद सहयोग परियोजना ९युएनडीपी० को सहकार्यमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसमा आयोजना गरेको “भ्रामक सूचनाबाट बचौँ, आधिकारिक सूचना रोजौँ” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले सामाजिक सञ्जालको सही प्रयोग, तथ्य जाँच र आलोचनात्मक सोचको आवश्यकता औँल्याएका हुन् ।

कार्यक्रममा सामाजिक सञ्जालले सूचना आदान–प्रदानलाई सहज बनाएको भए पनि गलत सूचना र अफवाह फैलाउने माध्यमका रूपमा पनि प्रयोग भइरहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई कुनै पनि सामग्री तत्काल विश्वास नगर्न आग्रह गरिएको थियो । वक्ताहरूले एउटै सूचना विभिन्न विश्वसनीय माध्यममा आएको छ कि छैन भन्ने जाँच गर्न, पोस्ट गर्ने व्यक्तिको विश्वसनीयता हेर्न तथा आधिकारिक निकायबाट पुष्टि नभएसम्म कुनै सूचना शेयर नगर्न सुझाव दिए ।

अन्तरक्रियामा सहभागी विद्यार्थीहरूले अहिलेको युवा पुस्ता फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब लगायतका प्लेटफर्मतर्फ तीव्र रूपमा आकर्षित भइरहेको बताए । उनीहरूका अनुसार सामाजिक सञ्जालले साथीभाइ र आफन्तसँग तुरुन्त सम्पर्क राख्न, नयाँ जानकारी पाउन, मनोरञ्जन लिन तथा आफ्नो विचार अभिव्यक्त गर्न सहज वातावरण बनाएको छ ।

कार्यक्रममा सामाजिक सञ्जालको आकर्षणसँगै यसको नकारात्मक प्रभावबारे पनि चर्चा गरिएको थियो । विशेषगरी फुर्सदको अधिकांश समय मोबाइल र सामाजिक सञ्जालमै बिताउने प्रवृत्तिका कारण अध्ययन, सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा असर परेको विषय उठाइएको थियो । सहभागीहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा समय व्यवस्थापन र सामग्री छनोटमा सचेत हुनुपर्ने धारणा राखेका थिए ।

वक्ताहरूले सामाजिक सञ्जाल र समाचारबीचको भिन्नता बुझ्न आवश्यक रहेको बताए । उनीहरूका अनुसार समाचार प्रमाणित सञ्चारमाध्यम, पत्रकार वा आधिकारिक संस्थाबाट तथ्य जाँच गरेर तयार गरिन्छ भने सामाजिक सञ्जालमा जोकोहीले जुनसुकै सामग्री पोस्ट गर्न सक्छ । त्यसैले सामाजिक सञ्जालमा देखिएको सबै सामग्री सत्य नहुन सक्ने भएकाले त्यसलाई अन्तिम सत्य मानेर धारणा बनाउन नहुनेमा जोड दिइयो ।

अन्तरक्रियामा सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना कसरी छुट्याउने भन्ने विषयमा विस्तृत जानकारी दिइएको थियो । वक्ताहरूले कुनै पनि सामग्री हेरेपछि त्यसको स्रोत के हो, कसले पोस्ट गरेको हो, आधिकारिक हो कि होइन भन्ने विषय जाँच गर्नुपर्ने बताए । यदि एउटै समाचार विश्वसनीय रेडियो, टेलिभिजन, राष्ट्रिय पत्रपत्रिका वा सरकारी वेबसाइटमा आएको छैन भने त्यसलाई शंकाको दृष्टिले हेर्नुपर्ने सुझाव दिइयो ।

कार्यक्रममा फेक आइडीको समस्या अहिले गम्भीर बन्दै गएको विषय पनि उठाइएको थियो । चर्चित व्यक्ति, नेता, कलाकार, पत्रकार वा सार्वजनिक व्यक्तित्वका नाममा नक्कली खाता बनाएर गलत सूचना फैलाउने, चरित्र हत्या गर्ने र आर्थिक ठगीसमेत हुने गरेको उल्लेख गर्दै यस्ता गतिविधिबाट बच्न विद्यार्थीहरूलाई सचेत बनाइएको थियो ।

कार्यक्रममा बागमती प्रदेशसभाका प्रवक्ता प्रकाश चापागाई तथा कानून विषयका उपसचिब प्रकाश चापागाईले सामाजिक सञ्जालबाट सहिसूचना मात्र लिनका लागि आग्रह गरे । कार्यक्रममा सहजीकरण गर्दै चापागाईले सामाजिक सञ्जालमा धेरै खालका सूचनाहरु आउने गरेको र ती सूचना सत्य होकी होइनन् भनेर जाँच गर्नुपर्ने बताए ।

सूचना पाउने हक सबैको रहेकोले सबै सार्वजनिक निकायबाट सूचनाको हक सम्वन्धी कानूनको प्रयोग गरेर कुनैपनि प्राप्त गर्न सकिने सूचना लिन सकिने बताए । कुनैपनि भ्रामक सूचनाहरु फैलाउन नहुनेमा उनको जोड थियो । जेनजी आन्दोलनपछी भ्रामक सूचना धेरै फैलिएको र त्यसको असर परेको उनले बताए ।

कार्यक्रममा हेटौंडा स्कुलअफ म्यानेजमेन्टका सहायक प्रिन्सिपल राम पण्डीत खनालले अहिले सामाजिक सञ्जालमा धेरै खालका भ्रामक सूचनाहरु आउने गरेकाले त्यसबाट बेलैमा सचेत हुनुपर्ने बताए । कुनैपनि सूचना आधिकारिक होकी होइन भनेर पहिले बुझ्नुपर्ने बताए ।

संञ्चारिका समुह बागमती प्रदेश समितिका निवर्तमान अध्यक्ष तथा राजधानी दैनिकका पत्रकार सरिता दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष तथा जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईले सहजीकरण गरेका थिए । कार्यक्रममा कलेजका प्राध्यापकहरु अनुराग अधिकारी, समिर तिमल्सीना लगायतकाको आतिथ्यता रहेको थियो ।

वक्ताहरूले फेक आइडी छुट्याउने केही आधारहरू पनि प्रस्तुत गरे । सामाजिक सञ्जाल प्लेटफर्ममा रहेको “ब्लु टिक” वा भेरिफिकेसन चिन्ह हेर्ने, प्रोफाइलको नाम र फोटो ध्यानपूर्वक अध्ययन गर्ने, पोस्टको भाषा र शैलीमा निरन्तरता छ कि छैन जाँच गर्ने तथा फलोअर संख्या र गतिविधि हेर्ने उपायबारे जानकारी दिइयो ।

उनीहरूका अनुसार आधिकारिक व्यक्तिहरूले सामान्यतया आफ्नै भाषा र शैलीमा निरन्तर सामग्री पोस्ट गर्ने गर्छन् । यदि कुनै खाताबाट अचानक उत्तेजक, घृणात्मक, अश्लील वा अस्वाभाविक सामग्री पोस्ट हुन थाल्यो भने त्यसलाई शंकाको दृष्टिले हेर्नुपर्ने सुझाव दिइयो ।

कार्यक्रममा सहभागी युवाहरूले सामाजिक सञ्जालको प्रयोग पूर्ण रूपमा नकारात्मक नभएको पनि बताए । उनीहरूका अनुसार सामाजिक सञ्जाल आधुनिक शिक्षा, करिअर, प्रविधि र विश्वका नयाँ ट्रेन्डबारे जानकारी प्राप्त गर्ने प्रभावकारी माध्यम बनेको छ । अनलाइन कक्षा, अध्ययन सामग्री, तालिम र सीप विकासका सामग्री सहज रूपमा उपलब्ध हुने भएकाले यसको सकारात्मक प्रयोग आवश्यक रहेको धारणा व्यक्त गरियो ।

त्यस्तै व्यवसायिक प्रचार–प्रसारमा पनि सामाजिक सञ्जाल प्रभावकारी माध्यम बनेको चर्चा गरिएको थियो ।