हेटौँडा । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ लामिटार बस्ने करिब ५० वर्षीय हिरा गोतामे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान करिब ९ः३० बजे गोतामे घरनजिकैको करेसाबारीमा घाँस काट्ने क्रममा पानी तान्ने मोटरमा विद्युत् प्रवाह भइरहेको तार काटिँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

करेन्ट लागेपछि उनलाई उपचारका लागि CMC हेटौँडा अस्पताल ल्याइएको थियो। उपचारका क्रममा बिहान १०ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।