हेटौँडा/नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास ले शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग हेटौँडामा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा कृषि, आधुनिक प्रविधि, प्राविधिक शिक्षा तथा संस्थागत सहकार्यका सम्भावित क्षेत्रहरूमा साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको हो।

भेटका क्रममा इजरायल सरकार र बागमती प्रदेश सरकारबीच विकासका विभिन्न क्षेत्रमा सहकार्यलाई अघि बढाउने विषयमा समेत सकारात्मक संवाद भएको जनाइएको छ। राजदूत बासको भ्रमणले प्रदेशमा प्रविधि हस्तान्तरण, कृषि विकास र प्राविधिक शिक्षामा सहयोगको सम्भावना थप बलियो हुने अपेक्षा गरिएको छ।

राजदूत बास दुई दिनसम्म बागमती प्रदेशमा रहने कार्यक्रम छ। भ्रमणका क्रममा उनले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन समितिको कार्यालय, औद्योगिक क्षेत्रभित्र सञ्चालित एसियन पेन्ट्स, अन्ट्राटिका बिस्कुट र एसटिसी इनर्जी ब्याट्री उद्योगको अवलोकन गर्नेछन्।

त्यसैगरी जनप्रिय प्राविधिक शिक्षालय, ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्र तथा इन्द्रसरोवर गाउँपालिका–मार्खुस्थित भेडा फार्मको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

राजदूतको यस भ्रमणलाई बागमती प्रदेश र इजरायलबीच विकास, लगानी, कृषि तथा प्राविधिक सहकार्यलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।