हेटौंडा/बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले धुलिखेल अस्पताललाई केही महिनाभित्र प्रदेशस्तरीय स्वास्थ्य विश्वविद्यालयका रुपमा विकास गर्ने प्रक्रिया पूरा भएको घोषणा गरेका छन् । उनले उक्त विश्वविद्यालय स्थापना भएपछि बागमती प्रदेशमा स्वास्थ्य शिक्षा, अनुसन्धान र विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारमा नयाँ युगको सुरुवात हुने बताए । उनले काभ्रेको धुलिखेलमा काठमाडँैं विश्वविद्यालय भए पनि प्रदेशस्तरीय विश्वविद्यालयको ढाँचामा नयाँ विश्वविद्यालयका अवधारण बागमती प्रदेशले अघिसारेको बताए ।
धुलिखेलमा जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आयोजित पूर्णखोप सुनिश्चित तथा दीगोपना जिल्ला घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले दीर्घकालीन सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिए । उनले भने–खोप एक दिनको अभियान होइन, यो पुस्तौंसम्म निरन्तर सञ्चालन गर्नुपर्ने राष्ट्रिय दायित्व हो । खोपका कारण नेपालमा बालमृत्युदर उल्लेखनीयरुपमा घटेको छ । दादुरा, रुबेला, पोलियोलगायत रोग नियन्त्रणमा आएका छन् । अब यसको दीगोपनाका लागि स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायको निरन्तर सक्रियता आवश्यक छ ।
मन्त्री मगरले बागमती प्रदेश सरकारले आधारभुत अस्पताल सुदृढीकरण, विद्यालय नर्स कार्यक्रम, स्वास्थ्य विमा विस्तार, दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य शिविर, हेलिकोप्टरमार्फत् आकस्मिक उद्धार सेवा, एक पालिका–एक नमुना स्वास्थ्य संस्था तथा एक जिल्ला–एक हेल्दी सिटी अभियान सञ्चालन गरिरहेको जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्यसचिव राघीश्री कक्षपति श्रेष्ठले जिल्लाका सबै वडा हुँदै १३ वटै स्थानीय तहले पूर्णखोप सुनिश्चितताको मापदण्ड पूरा गरेपछि जिल्ला घोषणा गरिएको जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दीपककुमार गौतमले पूर्णखोप सुनिश्चितता घोषणा अन्तिम उपलब्धि नभइ निरन्तर कायम राख्नुपर्ने अभियान भएको बताए । ‘हरेक वर्ष नयाँ बालबालिका जन्मिन्छन् । त्यसैले पूर्णखोप सुनिश्चिततालाई निरन्तर कायम राख्नु नै हाम्रो मुख्य जिम्मेवारी हो,’ उनले भने ।
रोटरी क्लब अफ धुलिखेल तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय रोटरी क्लबहरुको सहयोगमा जिल्लाका विभिन्न बर्थिङ सेन्टरलाई पोर्टेबल ब्ल्याक एण्ड ह्वाइट अल्ट्रासाउन्ड मेसिन १० थान हस्तान्तरण गरियो । रोटरी क्लब अफ धुलिखेल अध्यक्ष मोहनकुमार श्रेष्ठले दुर्गम क्षेत्रमा गर्भवतीलाई समयमै गुणस्तरीय मातृ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले उपकरण उपलब्ध गराइएको बताए ।













