हेटौंडा । हेटौंडा–काठमाडौं छोटो दुरीमा पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले बगाएको स्कुटर र हेल्मेट फेला परेको छ । तर, घटनामा बेपत्ता चालक भने फेला परेका छैनन् ।
उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार अपराह्न करिब ३ बजे कुलेखानी ड्यामनजिक रहेको सिमखोला तर्ने क्रममा आएको आकस्मिक बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाप्र–०२–०३२ प ८०५४ नम्बर स्कुटरधनी सर्लाहीका महेशकुमार कार्की रहेको ब्लुबुक तथा प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार स्कुटर बग्ने क्रममा त्यसमा कति जना सवार थिए र चालक कार्की नै हुन् वा होइनन् भन्ने विषय एकिन हुन सकेको छैन । मकवानपुर प्रहरी प्रवक्ता डीएसपी माधब काफ्लेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले घटनास्थल तथा आसपासका क्षेत्रमा बेपत्ता चालकको खोजीलाई निरन्तरता दिएको छ ।
स्कुटर चालक कहाँबाट कहाँ जाँदै थिए भन्ने विवरणसमेत एकिन हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । ‘एक जनाले पुरुषले चलाएको स्कुटर बाढीले बगाएको भन्ने छ । तर, बेपत्ता भएका व्यक्ति को हुन् र कहाँ जाँदै थिए भन्ने विवरण अझै खुल्न सकेको छैन । खोजी कार्य जारी छ,’ उहाँले भन्नुभयो ।
घटनापछि मंगलबार विहानदेखि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा सुरक्षा निकायको संयुक्त टोलीले खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले घटनास्थल अनुगमन गर्दै झरना, खोला तथा अन्य जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । लगातारको वर्षाले मकवानपुरका अधिकांश खोलानालामा पानीको बहाव उल्लेखनीयरुपमा बढेको छ ।













