हेटौँडा/ हेटौँडा उपमहानगरपालिका–११ स्थित स्मारक होटललाई सरसफाइमा गम्भीर लापरबाही गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले २५ हजार रुपैयाँ जरिवाना गरेको छ।
प्रशासनको अनुगमन टोलीले होटलको भान्सा निरीक्षण गर्ने क्रममा खाना पकाउने र भाँडा माझ्ने स्थान एउटै रहेको, भान्सा अत्यन्त फोहोर रहेको तथा न्यूनतम सरसफाइका मापदण्डसमेत पालना नगरेको भेटाएको जनाएको छ।
अनुगमनका क्रममा होटलको अवस्थाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष जोखिम पर्ने देखिएपछि तत्काल २५ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।
साथै, होटल सञ्चालकलाई तत्काल सरसफाइमा सुधार गर्न, भान्साको व्यवस्थापन मापदण्डअनुसार गर्न तथा सुधारका विषयमा प्रशासनलाई जानकारी गराउन निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित होटल, रेष्टुरेन्ट तथा खाद्य व्यवसायमा नियमित अनुगमनलाई निरन्तरता दिइने र मापदण्ड उल्लङ्घन गर्ने व्यवसायमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ।













