हेटौंडा/मकवानपुरमा आयुर्वेद सेवाप्रति नागरिकको विश्वास बढ्दै गएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरबाट चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि जेठ मसान्तसम्म ५४ हजार ४ सय २७ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये २९ हजार ५ सय ८४ जना महिला छन् । गत आर्थिक वर्ष ५० हजार २ सय ४६ जनाले सेवा लिएकोमा यस वर्ष सेवाग्राहीको सङ्ख्या उल्लेख्यरुपमा बढेको चिकित्सालयले जनाएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बहिरंग सेवा, पूर्वकर्म, पञ्चकर्म, प्रयोगशाला, अकुपञ्चर, योग, फिजियोथेरापीलगायत विभिन्न सेवा सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्षमा १७ हजार ८ सय ४५ जनाले बहिरंग (ओपीडी) सेवा, नौं हजार ३ सय २० जनाले पूर्वकर्म सेवा, ७ सय १४ जनाले पञ्चकर्म सेवा, सात हजार ८ सय ५६ जनाले प्रयोगशाला सेवा तथा चार हजार ५ सय ४ जनाले अकुपञ्चर सेवा लिएका छन् । १ सय १२ जना स्तनपायी आमालाई दुग्धवद्र्धक औषधि वितरण गरिएको छ भने ज्येष्ठ नागरिक स्वास्थ्य सेवा प्रवद्र्धन कार्यक्रममार्फत् तीन हजार ४ सय २७ जनालाई सेवा प्रदान गरिएको छ ।
कार्यालयका अनुसार ९ सय ८८ जनाले योगसेवा, ५ हजार १ सय २१ जनाले फिजियोथेरापी सेवा, ४७ जनाले मानसिक स्वास्थ्य प्रवद्र्धन तथा विशेषज्ञ आयुर्वेद चिकित्सा सेवा, चार हजार २ सय ५७ जना बालबालिकाले स्वर्णविन्दु प्राशन सेवा तथा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत् २ सय ३६ जनाले सेवा लिएका छन् । चिकित्सालयबाट ३५ प्रकारका निःशुल्क तथा ६० देखि ६५ प्रकारसम्मका सशुल्क आयुर्वेदिक औषधि बिक्रीवितरण हुँदै आएको छ ।
चिकित्सालयले जिल्लाको बागमती, बकैया, मकवानपुरगढी, मनहरी, इन्द्रसरोवर, भीमफेदी र कैलाश गाउँपालिका तथा थाहा नगरपालिकामा गरी आठ वटा आरोग्य केन्द्र सञ्चालन गरेको छ । हेटौंडा उपमहानगरपालिका र राक्सिराङ गाउँपालिकामा औषधालयमार्फत् सेवाप्रवाह भइरहेको छ । २०३४ सालमा तत्कालीन नारायणी अञ्चल आयुर्वेद औषधालयका रुपमा स्थापना भएको संस्था २०७८ सालमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेको थियो । मन्त्रिपरिषद्को २०८० पुस ३ गतेको निर्णयअनुसार हाल आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका रुपमा सञ्चालनमा छ ।
चिकित्सालय प्रमुख डा. सृष्टि श्रेष्ठले सुबिधासम्पन्न १६ शैय्याको भवन निर्माणसँगै सेवा विस्तार र गुणस्तरीय उपचारका कारण आयुर्वेद सेवाप्रति नागरिकको विश्वास बढ्दै गएको बताइन् । आयुर्वेदिक औषधिले अन्य उपचार पद्धतिको तुलनामा कम असर गर्ने विश्वासका कारण सेवाग्राहीको सङ्ख्या बढेको उनको भनाइ छ । विशेषगरि ग्याष्ट्रिक, हाडजोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघाखोकी र ज्वरोलगायत समस्या भएका बिरामी उपचारका लागि आउने गरेका छन् ।
उनका अनुसार ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण, रसायन चिकित्सा तथा योगमार्फत् स्वास्थ्य संरक्षण र प्रवद्र्धन कार्यक्रम सञ्चालन हुँदै आएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत् प्रत्येक सोमबार विहान ८ देखि १० बजेसम्म बागमती प्रदेशका ३० वर्षभन्दा माथिका व्यक्तिमा नसर्ने रोगको निःशुल्क स्क्रिनिङ सेवा पनि उपलब्ध गराइँदै आएको छ ।












