काठमाडौ/बिहीबार गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह नेतृत्वको सरकार दाबाबमा परे पनि पार्टीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

सामाजिकसञ्जाल र संसद्बाट समेत रास्वपाकै सांसद्ले सरकारको आलोचना सुरु गरेका छन् । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधनसँगै सरकारविरुद्ध आवाज उठिरहेको छ । प्रधानमन्त्री शाहले पछिल्लो समय कुनै धारणासमेत सार्वजनिक गरेका छैनन् । शनिबार बिदा मनाएको भन्दै स्टाटस लेख्ने उनी यस घटनापछि मौन छन् । सरकार बनेको तीन महिनाभित्र सुकुम्बासी बस्तीमा डोजर लगाएर पनि उनीहरुको व्यवस्थापन गर्न नसकेको, मन्त्री र मन्त्रालयमा प्रधानमन्त्रीको सचिवालय हाबी भएको, नियुक्तिमा समेत आफन्तहरु समावेश गर्न थालिएको विषयमा आलोचना सुरु भएको छ ।

४ दिनअघि पार्किङको चिट काट्ने विषयमा गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए । उपचारकै क्रममा शुक्रबार उनको निधन भएको थियो । निधनपछि सामाजिकसञ्जालमा व्यापक विरोध भइरहेको छ भने सडकमा समेत प्रदर्शन भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद्ले सामाजिकसञ्जाल र संसद्मा समेत सरकारको प्रश्न उठाइरहेका छन् । सरकार बनेको ३ महिना पूरा भइसकेपछि पनि प्रधानमन्त्री शाहले हालसम्म देशबासीका नाममा सम्बोधन गरेका छैनन् भने संसद्मा समेत आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । पछिल्ला घटनाक्रमबारे संसदीय दलको बैठक बोलाएर छलफल गर्नुपर्ने र पार्टीले समेत आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग उठिरहेको छ । सरकार एकपछि अर्को आलोचना र विरोधबीच दबाबमा पर्न थाले पनि सभापति रवि लामिछाने मौन छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्ले नै सरकारको आलोचना सुरु गरेका छन् । सुकुम्बासीको व्यवस्थापन र काठमाडौंको त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाहको घटनापछि रास्वपाका सांसद्ले सामाजिकसञ्जालमार्फत् सरकारको आलोचना गरेका हुन् । पछिल्लो समय सरकारविरुद्ध सत्तारुढ सांसद्हरु खुलेर बोल्न थालेका छन् । सामान्यतया संसदीय अभ्यासमा सांसद्ले सरकारको बचाउन गर्ने प्रचलन हुन्छ । पछिल्लो समय रास्वपाका सांसद् भने सरकारको आलोचनामा उत्रिएका छन् । सांसद् रञ्जु दर्शनाले सुकुम्बासी व्यवस्थापनको नाममा आफ्नै पार्टीको सरकारले गरेको काम अनुचित भएको बताएकी छन् । सामाजिकसञ्जालमा लेख्दै उनले दूध चुसाइरहेकी आमा, सुत्केरी र वृद्धहरुलाई व्यवस्थापनको नाममा राम्रो व्यवहार नभएको टिप्पणी गरेकी हुन् । उनले भनेकी छन्–रोग, शोक र भोकमा बग्ने आँसु झुटो हँुदैन । हिजो सुकुम्बासी व्यवस्थापनको विषयमा १०० दिने कार्यसूचीको बुँदा–९१ भन्दाअघि ९२ अघि सारियो । दूध चुसाइरहेकी आमा, सुत्केरी, वृद्ध बाआमाहरुलाई पनि एकै व्यवहार नगरियोस् भनेर सदनमा पटकपटक आवाज उठाएँ । सम्बन्धित निकायमा पनि निवेदन गरें । यो कामचाहिं सरकारको तर्फबाट ठीकढंगले भएन ।

यसअघि रास्वपा सचेतक क्रान्तिशीखा धितालले पनि सरकारको आलोचना गरेकी थिइन् । केही दिनअघि धितालले सडकमा बगिरहेका सुकुम्बासीका आँसुले सबैलाई पोल्नुपर्ने उल्लेख गरेकी थिइन् । उनले के अभिभावकीय राज्य यस्तै हुन्छ भन्दै प्रश्न गरेकी थिइन् । उनको भनाइ थियो–सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ । सुकुम्बासीहरुको व्यवस्थापन अत्यन्त आवश्यक थियो । तर, के यो हाम्रो वाचापत्रअनुसार भयो, के अभिभावकीय राज्य यस्तै हुन्छ, जुन संवेदनशीलता, योजना र जिम्मेवारीसाथ यो कार्य अघि बढाइनुपथ्र्यो, त्यसरी भएन । यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर ग¥यो ।

संसद्मै समेत रास्वपाका सांसद्ले सरकारको आलोचना गरेका छन् । आठ दिनअघि संसद् बैठकमा रास्वपा सांसद् पुरुषोत्तम यादबले सरकारलाई घण्टी बजाएर जगाउनुपर्ने बेला आएको बताए । प्रतिनिधिसभाको बैठकमा उनले अब सरकारलाई घण्टी बजाएरै जगाउने बेला आएको बताएका हुन् । पछिल्लो समय रास्वपाका सांसद्ले दलका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्व सरकारको खुलेर आलोचना गर्न थालेका छन् । पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित भएको विधानमा सभापतिको निर्देशन नमाने संसदीय दलको नेतालाई फिर्ता बोलाउन सक्ने व्यवस्था राखिएसँगै रास्वपाका सांसद्ले सरकारको अलोचना सुरु गरेका हुन् ।