काठमाडौं/त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएसँगै माइतीघर तनावग्रस्त बनेको छ । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएसँगै नागरिकहरु सरकारको विरोधमा उत्रिएका हुन् ।
बिहीबार राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बिहीबार महानगर प्रहरीले जरिवाना तिराएपछि असन्तुष्ट बनेका उनले आफ्नै शरीरमा आगो लगाएका थिए । नेपालीको निधनपछि घटनाको विरोधमा शुक्रबार माइतीघर मण्डलामा आमनागरिकले प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारविरुद्ध नाराजुलुस गरेका छन् । प्रदर्शनमा रहेकाहरुले बालेन सरकारको हातमा रगत छ, ट्राफिक आतंक बन्द गर, गरिबमारा आतंक बन्द गर, आत्मदाहको श्रृष्टिकर्ता दलाल पुँजीवाद व्यवस्था, फासीवाद सरकार मुर्दाबाद, गणेश नेपालीको हत्यारा बालेन सरकार हो, पीडित परिवारलाई क्षतिपूर्ति देलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
काठमाडौं महानगरपालिका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ह्विललक गरी १० हजार जरिवाना तिराएपछि असन्तुष्ट बनेका उनले आत्मदाहको बाटो रोजेका थिए । नेपालीको निधनपछि आक्रोशित बनेका सर्वसाधारण, चालक तथा राइडरहरुले शुक्रबार माइतीघरमण्डलमा भेला भइ सरकार र स्थानीय प्रशासनविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले राज्य संयन्त्र गरिब र श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको आरोप लगाए । सो क्रममा उनीहरुले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना र राइडरहरुको हकहितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद् घटनाहरु दोहोरिएको बताए । प्रदर्शनमा सहभागीका अनुसार घटनाका बखत महानगरका कर्मचारीहरु कार्यक्षेत्रमै उपस्थित भए पनि नेपालीलाई बचाउन पर्याप्त पहल नगरेको आरोप लगाइएको छ । उनीहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । विशेषगरि राइडसेयरिङमा आवद्ध युवाले सरकारले ट्याक्समात्र असुल्ने तर श्रमिकको सुरक्षा र व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे । यातायात विभागले राइडसेयरिङलाई कानुनी दायरामा नल्याउँदा वैज्ञानिक भाडादर कायम हुन नसकेको र कम्पनीहरुले मनपरि कमिसन लिइरहेको उनीहरुको भनाइ छ । प्रदर्शनकारीहरुले अव्यवहारिक जरिवाना खारेज गर्न, काठमाडौंभित्र पर्याप्त पार्किङको व्यवस्था गर्न र राइडरहरुका लागि स्पष्ट कार्यविधि निर्माण गर्न माग गरे । उनीहरुले राज्यले नागरिकको जीवन रक्षाको ग्यारेन्टी नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।











