काठमाडौं/प्रतिपक्ष दल एमाले सांसद् भूमिका लिम्बुसुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले मोटरसाइकल पार्किङ र जरिवानाको विषयपछि उनले आत्मदाह गर्ने निष्कर्षमा पुग्नुपरेकाले उक्त मृत्यु प्रकरणको जिम्मेवारी सरकार आफैंले लिनुपर्ने बताइन् । सांसद् सुब्बाले सरकार संवेदनशील, उत्तरदायी र सामाजिक विवेकमाथि गम्भीर नभएको आरोप लगाइन् ।

सांसद् सुब्बाले नेपालीमाथि मोटरसाइकल पार्किङ गरेका कारण १० हजार जरिवाना गरिएकै कारण आत्मदाहको प्रयास गरेको र यस्तो वातावरण बनाउनु दुःखद् भएको बताइन् । नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ भनी उनले सरकारको ध्यानाकर्षण गराएकी थिइन् । उक्त मृत्यु प्रकरणको दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि सरकारसँग उनले माग गरिन् । ‘गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ । यो मृत्यु एउटा व्यक्तिको मृत्युमात्र होइन, यो राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न पनि हो । घटनाको छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको व्यवस्थापनका लागि म जोडदार माग गर्दछु,’ उनले भनिन् ।

प्रतिनिधिसभाका सांसद्हरुले सरकारसँग गणेश नेपालीको आत्मदाहको प्रयास र उनको निधनका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसद्हरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सुरुमा सांसद् वासना थापालाई बोल्न समय दिएका थिए । थापाले मुगुका २५ वर्षीय नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गरेकी थिइन् ।

सांसद् पार्वती बिकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको र उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिन् । सांसद् राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिन हुनुपर्ने बताइन् । सांसद् ज्ञानबहादुर शाहीले गरिब, दुःखी जनता राजधानीमा बाँच्न नसक्ने वातावरण बनेको बताए । सुबिधा र व्यवस्था हुनेखानेका पक्षमा मात्र रहेको उनले सुनाए । युरोपमा भन्दा बढी कर तिरेर सोमालियाजस्तै सुबिधा पाउन नागरिक बाध्य भएको सांसद् शाहीको भनाइ थियो ।

शव बुझ्न अस्वीकार

पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका नेपालीको परिवारले उनको शव बुझ्न अस्वीकार गरेको छ । गणेशका भतिज मन नेपालीले सरकारले उनका परिवार हेरचाहको जिम्मेवारी नलिँदासम्म आफूहरुले शव नबुझ्ने बताए । ‘उसको (अंकल) पत्नी पढ्दैछिन् । छोरी पनि सानै छ,’ उनले भने–उसैले काम गर्दै परिवार पालिरहेको थियो । सरकारले गणेशकी पत्नी र छोरीको जिम्मेवारी लिनुपर्छ । जिम्मेवारी नलिँदासम्म हामी शव बुझ्दैनौं । सरकारले जिम्मेवारी लिन नमाने आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए । ‘माइतीघर जानुपर्छ कि कहाँ जानुपर्छ, हामी आन्दोलन गर्छौं,’ नेपालीले भने ।

बिहीबार गणेशले गलत ठाउँमा पार्किङ गरेको भन्दै महानगर प्रहरीले आफ्नो बाइकमा ह्विललक गरिदिएपछि गणेशले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । लगत्तै उनलाई वीर अस्पतालमा लगेर उपचार थालिएको थियो । अस्पतालका अनुसार उनको शरीर करिब ५५ प्रतिशत् जलेको थियो । शरीरको धेरै भाग जलेकाले उपचार कठिन बन्दै गएपछि गणेशको मृत्यु भएको अस्पतालले जनाएको छ ।

आत्मदाह प्रयास गरेका गणेश नेपालीले १३ असारमा गाउँका भतिज पर्नेलाई म्यासेज पठाएका थिए । जसमा लेखिएको थियो–हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो यार । १ हजार तिर्नुपर्ने भो ….। म्यासेजको अन्तिममा दुई वटा रोइरहेको इमोजी पनि राखिएको थियो ।

उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको काठमाडौं प्रहरीपरिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए । गणेशका दाइ मदनले अस्पतालले भाइको निधन भएको जानकारी दिएको बताए । प्रधानमन्त्रीको सचिवालयका सल्लाहकारसहित दुई जना अस्पतालमा मृतक परिवारसँग समन्वय गरिरहेका छन् । हालै नियुक्त न्याम्सका पदाधिकारीहरु कुलपति, रेक्टर, रजिस्ट्रार र अस्पतालका निर्देशकसँग पनि उनीहरु छलफलमा रहेको अस्पतालका एक कर्मचारीले बताए ।

मदन नेपाली बालाजु हाइटमा रहेको डेरामै थिए । उनलाई नचिनेको नम्बरबाट फोन आयो । फोनमा बोल्ने थिए नेपाल प्रहरीका एक प्रतिनिधि । उनले जुन खबर सुनाए, त्यो मदनले पत्याउने खालको थिएन । साढे २ बजे उनलाई फोन आएको थियो । ३ बजे त उनी वीर अस्पताल पुगिसकेका थिए । उनी नपुग्दै उनका २६ वर्षीय भाइ गणेश नेपालीलाई इमर्जेन्सी वार्डमा लगिसकिएको थियो । वीर अस्पतालपरिसरमा रहेका उनले भक्कानिँदै सुनाए–म त अक्क न बक्क भएँ । यहाँ आएर पो सबै कुरा थाह पाएँ ।

मदनका भाइ गणेश राइडसेयरिङ एपमार्फत् राइडरको काम गर्थे । पत्नी र तीन वर्षकी छोरीसहित भक्तपुरमा डेरा गरी बस्ने गणेश बुधबार भने दाइकै डेरामा पुगेका थिए । मदनले सुनाए–विहान ५ बजे राइड गर्न निस्केको थियो । एक्कासी यस्तो खबर आयो । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश केही वर्षयता काठमाडौंमा बस्दै आएका थिए ।

बाबा–मम्मीलाई केयर गर्नु

दाइ मदनका अनुसार उनी वैदेशिक रोजगारीमा दुबई जान सकिन्छ कि भनेर प्रयास गरिरहेका थिए भने लोकसेवाको तयारी पनि सँगै गरिरहेका थिए । उनले भने–यस्तो भयो । हतारिँदै वीरमा पुग्दा भाइको अवस्था हेर्न सकिने नभएको मदनले बताए । उनले इमर्जेन्सीमा रहेका बेला भाइसँग २–४ कुरा भएको भने सुनाए ।

उनले भने–बाबा–मम्मीलाई केयर गर्नु भन्यो । अनि यो सबै महानगरले गर्दा हो भन्यो । यति भनेपछि भाइको बोली हरायो । काठमाडौं प्रहरीपरिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार नेपालीले राहदानी विभागअगाडि मोटरसाइकल पार्किङ गरेका थिए र त्यसमा महानगर प्रहरीले ह्विललक लगाइदिएको थियो । आफ्नो बाइकमा ह्विललक लगाएको भन्दै उनले बाइकबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् । घिमिरेले भने–घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पु¥यायो ।

घटना कसरी भयो भनेर काठमाडौं महानगरपालिका नगर प्रहरी विष्णुप्रसाद जोशीसँग पनि कुराकानी गरियो । विष्णुले उक्त घटना भएपछि त्यहाँ खटिएका प्रहरीसँग आफूले घटनाबारे बुझेको बताउँदै भने–सार्वजनिक आवागमनमा अवरोध भयो भने वा फुटपाथमा अवरोध भयो भने हामी ह्विललक लगाउँछौं । त्यहाँ पनि महानगर प्रहरीले ह्विललक लगाए । तर, उनले जरिवाना नतिर्ने बताएपछि मोटरसाइकल उठाउन गाडी पुगेका बेला त्यस्तो घटना भयो ।

जोशीका अनुसार ह्विललक गरेको २ घण्टापछि गणेशले जरिवाना तिर्दिनँ, जहाँसुकै लैजानुस् भनेर भनेका थिए । त्यसपछि त्यहाँ खटिएका प्रहरीको खबरपछि नगर प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली गाडी लिएर सवारी उठाउन पुगेको थियो । उनले थपे–गाडी पुगेपछिको कुरा हो । हाम्रा प्रहरीहरु गाडीअगाडि थिए । उनीहरुले अरू काम गरिरहेका बेला गणेशले मोटरसाइकलबाट पेट्रोल निकालेर आफैंमाथि छर्केर आगो लगाएछन् भन्ने सुन्यौं । तर, हाम्रा जवानहरुले त्यो कुरा केहीबेरपछि मात्र देखे ।

दण्डमुखी नीति अन्त्य गर्न माग

अखिल नेपाल यातायात मजदुर संघले श्रमिक नेपालीको आत्मदाह प्रकरणप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र तथा उच्चस्तरीय छानबिन, दोषीमाथि कडा कारबाही र श्रमिकमाथि लागु गरिएको दण्डमुखी नीतिको अन्त्य गर्न सरकारसँग माग गरेको छ । संघ केन्द्रीय अध्यक्ष दीपक केसीद्वारा जारी प्रेस विज्ञप्तिमा संघीय राजधानी काठमाडौं उपत्यकामा यात्रु चढाउने–ओराल्ने स्थान, पर्याप्त पार्किङ, सार्वजनिक शौचालय, चालक–सहचालक तथा यात्रुका लागि विश्रामस्थललगायत आधारभुत पूर्वाधारको वर्षौंदेखिको अभावलाई राज्यको गम्भीर लापरबाहीको परिणाम भएको उल्लेख गरिएको छ । राज्यले आफ्ना दायित्व पूरा नगरी श्रमिकमाथि चर्को जरिवाना, ह्विललक तथा नियन्त्रणमुखी कारबाहीलाई प्राथमिकता दिएको भन्दै संघले त्यसप्रति गम्भीर आपत्ति जनाएको छ ।

विज्ञप्तिअनुसार काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वरस्थित राहदानी विभागपरिसर बाहिर महानगर प्रहरीले एक राइडचालकको मोटरसाइकलमा ह्विललक लगाएपछि नेपालीले आत्मदाहको प्रयास गरेका थिए । वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको घटनाले सम्पूर्ण श्रमिक समुदायलाई स्तब्ध, मर्माहत र आक्रोशित बनाएको संघको भनाइ छ । घाइते अवस्थामा तत्काल उद्धार र उपचारमा समेत गम्भीर कमजोरी भएको दाबी गरिएको छ ।

संघले दिवंगत नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन समिति गठन, दोषी व्यक्ति वा निकायमाथि कानुनबमोजिम कारबाही, परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा दीर्घकालीन जीविकोपार्जनको व्यवस्था गर्न माग गरेको छ ।

उपत्यकामा यातायात श्रमिकमैत्री पूर्वाधारको तत्काल निर्माण, जरिवाना र दण्डमुखी नीति अन्त्य गरी सेवा, सहजीकरण, मानवीय संवेदना र सामाजिक न्यायमा आधारित ट्राफिक तथा शहरी व्यवस्थापन प्रणाली लागु गर्न, यातायातसम्बद्ध ऐन, नीति तथा कानुन निर्माण प्रक्रियामा सरोकारवाला पक्षको अनिवार्य सहभागिता सुनिश्चित गर्न तथा सडकमा राज्यपक्षबाट भइरहेको दमन र त्रासपूर्ण व्यवहार अन्त्य गर्न पनि संघले माग गरेको छ । संघले राज्यले आफ्ना दायित्व पूरा नगरी श्रमिकमाथिको दण्ड र दमनको नीति कायम राखे तथा उदासिनता देखाइरहेमा संविधानप्रदत्त अधिकार, श्रमिकको सम्मान र हितको संरक्षणका लागि चरणबद्ध, सशक्त तथा शान्तिपूर्ण आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

सबै माध्यमबाट अथक् प्रयास

गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको ज्यान बचाउन सरकारले उपलब्ध सबै माध्यमबाट अथक् प्रयास गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै नेपालीको उपचारका लागि कुनै कसर बाँकी नराखिएको दाबी गरे । गृहमन्त्री गुरुङले केही सांसद्तर्फ संकेत गर्दै उपचार प्रक्रियामाथि प्रश्न उठाउनेहरुप्रति असन्तुष्टि जनाए ।

उनले भने–धेरै साथीभाइहरु घाँटी सुक्ने गरी चिच्याइरहनुभएको देखें । तर, म सोध्न चाहन्छु, तपाईंहरु कति जना अस्पतालमा उपस्थित हुनुहुन्थ्यो ? केवल कराएर वा आलोचना गरेर हुँदैन, जनताको सेवा व्यवहारमै देखिनुपर्छ । गृहमन्त्री गुरुङले कठिन परिस्थितिमा सरकार नागरिकको जीवन बचाउन निरन्तर प्रयासरत् रहेको पनि बताए ।

तीन नगर प्रहरी पक्राउ

नेपालीले गरेको आत्मदाह प्रयास प्रकरणमा प्रहरीले तीन नगर प्रहरीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दुई महिला नगर प्रहरी र एक जना पुरुष नगर प्रहरी रहेको प्रहरीले जनाएको छ । घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको छ । प्रहरीका अनुसार आत्मदाह प्रयासअघि भएको घटनाक्रम, नगर प्रहरीको व्यवहार तथा उनीहरुको भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । यस घटनाले सार्वजनिक सेवाप्रवाहका क्रममा नगर प्रहरीको व्यवहार र जिम्मेवारीबारे प्रश्न उठाएको छ । प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षको निष्पक्ष अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानको निष्कर्षपछि थप विवरण सार्वजनिक गरिने जनाएको छ ।