हेटौंडा/मकवानपुर प्रहरीले लागुऔषध अनरेक्स–१०० एमएलका २७ बोतलसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ९ बजे खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–४ स्थित कपुर कम्प्लेक्सअगाडिको भित्री सडकमा बाप्र–०३–००६ प ५४०५ नम्बरको स्कुटर रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा स्कुटरको डिकीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ओनेरेक्स-१०० एमएलका २७ बोतल बरामद भएको प्रहरीले जनाएको छ । घटनामा स्कुटरमा सवार हेटौंडा–१४, मयुरधाप घर भइ हाल हेटौंडा–५ मा डेरा गरी बस्ने २८ वर्षीय कालीबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बरामद लागुऔषध र स्कुटरसहित बस्नेतलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।