हेटौंडा/नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौलाले पार्टीको वैधानिक संरचनाबाट भएका निर्णय अस्वीकार गर्न नमिल्ने बताउँदै महाधिवेशनबाट निर्वाचित नेतृत्वमाथि अनावश्यक विवाद सिर्जना गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । बिहीबार खबरदारीसँग कुरा गर्दै बर्तौलाले पार्टीको नेतृत्व ११ औं महाधिवेशनबाट स्थापित वैधानिक प्रक्रियाअनुसार नै अघि बढ्ने स्पष्ट पारे ।
उनले नेतृत्व चयन पार्टीको विधि, विधान र स्थापित अभ्यासअनुसार हुने भएकाले महाधिवेशनबाट भएका निर्णयलाई व्यक्तिगत् चाहना वा असन्तुष्टिका आधारमा अस्वीकार गर्न नमिल्ने बताए । बर्तौलाले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै अध्यक्ष केपी शर्माओलीको नेतृत्वमा एमालेलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको धारणा राखे । उनले कसैको व्यक्तिगत् इच्छाअनुसार पार्टीले निर्णय नगर्ने स्पष्ट पार्दै निर्वाचनमा आएको अनपेक्षित परिणामबारे भने आवश्यक छलफल र समीक्षा गर्न सकिने बताए । उनले केही पदाधिकारीले नेतृत्वको आलोचना गरेर लोकप्रिय बन्न खोजेको आरोप पनि लगाए ।
बर्तौलाले भने–पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुनै विवाद नै छैन । भर्खर सम्पन्न ११ औं महाधिवेशनले विधानअनुसार निर्णय गरिसकेको छ । कम्युनिष्ट पार्टीभित्र नेतृत्व निर्माणका आफ्नै वैधानिक संरचना, विधि र अभ्यास छन् । ती प्रक्रियाबाट भएका निर्णय कसैको व्यक्तिगत् चाहना वा असन्तुष्टिका आधारमा अस्वीकार गर्न सकिँदैन । उनले महाधिवेशनले गरेको निर्णयकै आधारमा पार्टीलाई थप एकताबद्ध बनाउँदै विधानले निर्देशित गरेका नीति र कार्यक्रमअनुसार अघि बढ्नुपर्ने बताए । बर्तौलाले फागुन २१ को निर्वाचनमा आएको अपेक्षाभन्दा फरक परिणामपछि पार्टीभित्र केही बहस सुरु भएको स्वीकार गर्दै नेतृत्वको आलोचनामात्र गरेर लोकप्रिय बन्ने प्रयासले पार्टीलाई फाइदा नपुग्ने धारणा राखे । उनले एमालेका सबै तहका नेता–कार्यकर्ताले वैधानिक संरचनाबाट भएका निर्णयको सम्मान गर्दै पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिए ।











