हेटौंडा । मकवानपुर जिल्ला प्रशासनको नियमित अनुगमनपछि बिहीबार दुबई होटल तत्कालका लागि बन्द गरेको छ । अनुगमन गर्न जाँदा हेटौंडा–२ स्थित लोकप्रिय भोजनालयमा होटलभित्र देखिएको दृष्यहरुले दुई लाख जरिवाना तिर्नुपरेको छ भने होटल बन्द गरिएको छ ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख बिमला पोखरेलले अनुगमनपश्चात् दिएको सम्पूर्ण निर्देशनको पालना गर्नु भएपछि खोल्न सकिने बताएकी छन् । खाद्य स्वच्छता तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै धादिङ जिल्ला अनुगमन समितिले पनि पृथ्वी राजमार्गअन्तर्गत् सञ्चालनमा रहेका होटल तथा रेष्टुराँहरुको अनुगमनलाई तीव्र बनाएको छ । अनुगमनका क्रममा खाद्य मापदण्ड र सरसफाइमा गम्भीर लापरबाही गरेको पाइएपछि गजुरी गाउँपालिका–२, विहानी पम्पक्षेत्रमा सञ्चालित दुई होटललाई जनही २५ हजारका दरले जरिवाना गरिएको छ ।

जरिवाना गरिएका होटलहरुमा मन्दिरा होटल एण्ड रेष्टुराँ र शुभलक्ष्मी होटल एण्ड रेष्टुराँ छन् । जिल्ला अनुगमन समितिले ती होटलमा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने खालका विभिन्न कमजोरी तथा लापरबाही भेटिएको जनाएको छ । अनुगमनका क्रममा होटलहरुमा बासी खाना बिक्रीका लागि राखिएको, खानामा कीरा परेको, खाना पकाउने तथा तयारी गर्ने स्थान अत्यन्त फोहर अवस्थामा रहेको, प्रयोगका लागि राखिएका तरकारी कुहिएको अवस्थामा फेला परेको, म्याद नाघेका खाद्यान्न सामग्री प्रयोगमा राखिएको तथा फ्रिजभित्र कुहिएका सामग्री र विभिन्न खानेकुरा अस्वस्थ्यकर तरिकाले भण्डारण गरिएको पाइएको थियो ।

जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य सामग्रीमा लापरबाही हुनु गम्भीर विषय भएको जनाएको छ । प्रशासनका अनुसार होटल तथा रेष्टुराँ व्यवसाय केवल व्यापारिक गतिविधिमात्र नभइ जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको सेवाक्षेत्र भएकाले यसमा हुने सानो कमजोरीले समेत ठूलो असर पार्न सक्नेछ । पछिल्लो समय पृथ्वी राजमार्ग प्रयोग गर्ने यात्रुहरुको संख्या बढ्दै गएको अवस्थामा राजमार्ग क्षेत्रका होटलहरुमा खाद्य स्वच्छता, सेवा गुणस्तर तथा सरसफाइका विषयमा पटकपटक गुनासा आउने गरेका थिए । सोही अवस्थालाई ध्यानमा राख्दै जिल्ला अनुगमन समितिले बजार तथा होटल अनुगमनलाई प्रभावकारी बनाउने अभियान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रशासनले होटल व्यवसायीलाई खाद्य सामग्रीको गुणस्तर, सरसफाइ, भण्डारण व्यवस्था र उपभोक्ता स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गरेको छ । उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरी सञ्चालन गरिएका व्यवसायमाथि आगामी दिनमा पनि नियमित अनुगमन र आवश्यक कारबाहीलाई निरन्तरता दिइने जनाएको छ । खाद्य स्वच्छताका विषयमा देखिएको लापरबाहीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्नसक्ने भएकाले सम्बन्धित व्यवसायीहरुले समयमै सुधार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतमपाण्डेय, प्रहरी उपरीक्षक सुमित खड्का, अनुसन्धान कार्यालय प्रमुख उपअनुसन्धान निर्देशक हुमकान्त पाण्डे, पशुसेवा कार्यालय प्रमुख डा. बब्लु ठाकुर, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख चुडामणि पुरी तथा सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश भट्टराईलगायतको सहभागिता थियो ।