हेटौंडा । मकवानपुरमा जिल्लास्तरीय फुलकन्टयाक्ट क्योकुसिन कराते प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला क्युकोसिन कराते संघ बालकुमारी (आईकेओ) को आयोजनामा शनिबार हेटौंडा–४, पारिजातपथस्थित बहुउद्धेश्यीय कभर्डहलमा दोस्रो संस्करणको फुलकन्टयाक्ट क्योकुसिन कराते प्रतियोगिता हुने भएको हो ।
दोस्रो संस्करणको प्रतियोगितामा मकवानपुरका ६ वटा डोजोबाट करिब १ सय ३० खेलाडीको सहभागिता रहने संघ मुख्य प्रशिक्षक विष्णु श्रेष्ठले जानकारी गराएका छन् । प्रतियोगितामा हेटौंडा–१३ वनस्पतिस्थित हेटौंडा डोजो, हेटौंडा–१४ स्थित उत्तरपानी डोजो, हेटौंडा–१८ हर्नामाडीस्थित हर्नामाडी डोजो, हेटौंडा–१९ बस्तीपुर डोजोबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहने मकवानपुर मुख्य प्रशिक्षक श्रेष्ठले बताएका हुन् ।
प्रतियोगिताका आर्थिक सहयोगका लागि हेटौंडा उपमहानगरपालिकासँग पनि प्रस्ताव राखिएको प्रशिक्षक श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगिताका लागि पूर्वखेलाडी, स्टमित्रलगायत युवा व्यवसायीहरुबाट सहयोग प्राप्त हुने अपेक्षा गरिएको उनले बताए । प्रतियोगितामा महिलातर्फ ४० केजी तौल समूहदेखि ५० केजी तौल समूहसम्म र पुरुषतर्फ ३० केजी तौल समूहदेखि ५० केजी तौल समूहसम्मका खेलाडीको सहभागिता रहने उनले बताए । उनले प्रतियोगितामा फाइट विधामा मात्र प्रतिस्पर्धा हुने उनले जानकारी गराए ।
युवा जनशक्ति खेलाडीहरुको उत्पादन गर्न, खेलाडीहरुबीच भ्रातृत्व कायम गर्न, मानिसकरुपमा स्वस्थ्य बनाउन, जिल्लामा खेलकुद विकास गर्न र खेलको पहिना बढाउँदै प्रवद्र्धनका लागि दोस्रो पटक प्रतियोगिता गर्न लागिएको उनले बताउँदै उनले भने–प्रतियोगितामार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न योजना बनाएका छौं । फुलकन्टयाक्ट कराते प्रतियोगितामार्फत् जिल्लाका विभिन्न खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुँदै पदक दिलाएर जिल्लालाई चिनाउन सफल भएको उनले बताए ।
प्रतियोगितामा जुनियरतर्फ १० वर्षदेखि र सिनियरतर्फ १८ वर्ष उमेर समूहसम्मका खेलाडीहरुले सहभागिता जनाउने पाउने उनले बताए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका आयोजकले खाना र खाजाको व्यवस्था गर्ने उनले बताए । प्रतियोगितामा, प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई स्वर्ण, रजत र कास्य पदकसहित मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने उनले बताए । पुरुषतर्फ १ जना र महिलातर्फ १ जना गरी २ जनालाई पनि पुरस्कृत गरिने उनले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि २ लाख ५० हजार खर्च हुने आयोजकले अनुमान गरेको
छ ।













