हेटौंडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त पाँच सहकारी संस्थाका साना बचतकर्ताको बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ ।
बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा बसेको बैठकले सिभिल, कीर्तिपुरको दर्शन, नेसनल नमोबुद्ध, ललितपुरका लालीगुराँस र सुमेरु सहकारीको सम्पत्ति बिक्री तथा ऋणअसुलीबाट प्राप्त रकमका आधारमा बचतकर्तालाई रकम फिर्ता गर्न सूचना प्रकाशन गरी प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कामलाई थप प्रभावकारी बनाउने, सहकारी संस्थाको अनुगमन तथा नियमन सुदृढ गर्ने र दुवै निकायबाट मन्त्रालयमा नियमित त्रैमासिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । कुनै सहकारीलाई समस्याग्रस्त घोषणा गर्नुअघि वस्तुगत आधार र प्रमाणका आधारमा मात्र सिफारिस गर्ने निर्णय गरिएको छ ।
प्रदेशमा सहकारी क्षेत्रको वर्तमान अवस्था र प्रस्तावित समस्याग्रस्त सहकारीको समग्र विषयहरुको सम्बन्धमा विशेष प्रस्तुतिकरणसहित बसेको बैठकबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कामलाई थप प्रभावकारी बनाउने तथा नियमितरुपमा मन्त्रालयमा त्रैमासिक प्रतिवेदन गर्ने निर्णय गरिएको छ । समग्र सहकारी संस्थाहरुको अनुगमन तथा नियमन प्रभावकारी बनाउने तथा नियमितरुपमा मन्त्रालयमा त्रैमासिक प्रतिवेदन गर्ने निर्णय पनि भएको छ ।
२०८१ भदौ २१ मा पहिलो पटक सिभिल सहकारी, २०८१ कात्तिक ११ मा दर्शन सहकारी र पुस २८ मा नेसनल नमोबुद्ध, लालीगुराँस र सुमेरु सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियोे । समस्याग्रस्त घोषणा गरिएसँगै नेसनल नमोबुद्ध र लालीगुराँस सहकारीमा प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौंले सिल गरेको छ । कार्यालयले ती सहकारीको आयव्ययको अवस्था जाँचबुझ गर्न कम्प्युटरका हार्डडिक्सहरु सिज गरेको छ भने खातासमेत रोक्का गरिसकेको छ ।
कार्यालयका अनुसार २ हजार ५ सय बढी सदस्य रहेको सिभिल सहकारीका एक हजार बढी सदस्यले ५ अर्ब बढीको मागदाबी गरेका छन् । सोहीअनुसार उक्त सहकारीको बिगो निर्धारण गरिएको छ । सबै सदस्यले मागदाबी पेस गर्दा सिभिलको करिब ८ अर्ब दायित्व देखिनसक्ने अनुमान छ । सुमेरु सहकारीले २ अर्ब २५ करोड १४ लाख बचत फिर्ताको मागदाबी छ । सहकारीको १३ अर्बभन्दा बढीको सम्पत्ति रहेको अनुमान छ भने ७ अर्बभन्दा बढीको दायित्व रहेको जनाइएको छ ।
नेसनल नमोबद्ध सहकारीका बचतकर्ताले बचत फिर्ता माग गर्दै उजुरी दिएका थिए । नेसनल नमोबुद्धको १ अर्ब ५२ करोड दायित्व देखिएको छ भने ७० करोड सम्पत्ति रहेको मन्त्रालयले जनाएको छ । लालीगुराँस सहकारीविरुद्ध करिब एक हजार बचतकर्ताको १ अर्ब ६१ करोड ९९ लाख ७५ हजार बचत फिर्ता माग गर्दै उजुरी परेको थियो । ३ हजार २ सय ३८ सेयर सदस्य रहेको सहकारीको बचत रकम ३ अर्ब ८६ करोड १४ लाख छ भने सहकारीको लगानी ३ अर्ब १६ करोड २५ लाख देखिएको छ ।
दर्शन सहकारीमा ९ हजार ८ सय ५७ सदस्य र कुल सम्पत्ति १ अर्ब ५७ करोड ४ लाख छ । सहकारीको जम्मा बचत दायित्व ८६ करोड ८० लाख ८६ हजार छ । सहकारीको जम्मा सेयर पुँजी २२ करोड ४५ लाख ४५ हजार, जगेडा कोष ४ करोड २५ लाख ७९ हजार, ऋण लगानी १ अर्ब ४५ करोड १३ लाख ४५ हजार र तिर्नुपर्ने वाह्य ऋण ३४ करोड ७६ लाख १६ हजार देखिएको छ ।
सहकारीपीडितहरुले गत बैशाखमा बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका थिए । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारीपीडितहरुले कार्यालय घेराउ गरेका हुन् । देउराली सहकारीसहित अन्य सहकारीपीडतहरुले सहकारीलाई समस्याग्रस्त घोषणा गरी आफूहरुको बचत फिर्ता दिलाउन माग गर्दै कार्यालयमा दबाब दिएका थिए ।
सहकारीपीडितहरुले प्रदेशका १६ सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गरेका थिए । पीडितहरुले कार्यालयमा पटकपटक ध्याकर्षण गराउँदा पनि माग सम्बोधन नभएको भन्दै कर्मचारीहरुसँग आक्रोश व्यक्त गरेका थिए ।
बैठकमा सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी (पौडेल), मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामबाबु पुरी, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव महेश भट्टराई, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति सदस्यहरु नेत्रराज पौडेल र रामेश्वर ढकाल, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी उपसचिवद्वय अनिता तामाङ र उमेशकुमार दाहाल, सहकारी रजिष्ट्रारको कार्यालय ललितपुरका रजिष्ट्रार प्रदीपराज पौडेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव भक्तबहादुर भण्डारी र समस्याग्रस्त सहकारी व्यवस्थापन समिति सदस्यसचिव प्रवीण खनाललगायत सहभागी हुनुहुन्थ्यो ।












