हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा सम्भवतः पहिलो पटक बुद्धचित्त चोरी भएको दाबी गरिएको छ । वडा–१, चापाखर्क बस्ने ५० वर्षीय सुनील मुक्तानको घरबारीबाट आइतबार राति करिब १ः३० बजे रुखको हाँगा भाँचेर बुद्धचित्त चोरी भएको उजुरी प्रहरीमा परेको हो ।

उक्त राति करिब एक घण्टाको बीचमा मुक्तानको घरपरिवार सुतिरहेको बेला मौका छोपी अभियुक्तहरुले घरबारीमा रहेको बुद्धचित्तमाला रुखको दाना चोरी गरी लगेका हुने । विहान करिब ५ बजे उठेर बारीमा हेर्दा उक्त बुद्धचित्तमाला रुखको दाना चोरी भएको पाइएको मुक्तानले दाबी गर्नुभएको छ । करिब सात लाख रुपियाँ बराबरको बुद्धचित्तमालाको रुखबाट दाना चोरी गरिएकाले खोजी गरी चोरी गर्ने व्यक्तिलाई पक्राउ गर्न उहाँको आग्रह छ । करिब १६ वर्षअघि रोपिएको एउटामात्र बुद्धचित्तको बोटबाट उत्पादन सुरु भएको हो । दुई वर्षअघि थप २१ वटा बोट रोपिएको र ती आगामी वर्षदेखि उत्पादनयोग्य हुने अवस्थामा छन् ।

पाँच लाख रुपियाँ बुद्धचित्तको दानाका लागि व्यापारीसँग बैना लिइएको र करिब १२ लाख रुपियाँ यस वर्षको आम्दानी हुने अनुमान रहेको उहाँले बताउनुभयो । चोरीपछि बाँकी रहेका करिब चार मालामात्र बुद्धचित्त दाना व्यापारीलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

गत वर्ष उहाँले करिब आठ लाख रुपियाँ बराबरको बुद्धचित्त दाना व्यापारीलाई बिक्री गर्नुभएको थियो । बुद्धचित्तका स्थानीय किसान रत्नबहादुर गोलेले यस्ता घटनाले गाउँमा सुरक्षा चुनौती बढेको बताउनुभयो । यसअघि, सिन्धुली, काभ्रे र ललितपुरलगायत स्थानमा यस्ता चोरीका घटना सुनिएका थिए ।