हेटौंडा । विश्वभर आठ प्रजातिका सालक पाइने भए पनि नेपालमा भने काले र तामे गरी दुई प्रजातिका सालक पाइन्छन् । मकवानपुरस्थित रानी सामुदायिक वन उपभोक्ता समूहले विगत २० वर्षदेखि सालक संरक्षणमा निरन्तर काम गर्दै आएको छ ।
समूहले आफ्नो वन क्षेत्रभित्र सालकका लागि उपयुक्त बासस्थान निर्माण गर्नुका साथै उपभोक्तालाई सालकको महत्व र संरक्षणबारे सचेतना प्रदान गर्दै आएको छ । तालिम, गोष्ठी तथा विभिन्न जनचेतनामूलक कार्यक्रममार्फत् सालक संरक्षणका विषयमा जानकारी दिइँदै आएको छ । सालकको मुख्य आहार धमिरा भएकाले जंगलमा रहेका धमिराका देउला संरक्षणमा पनि विशेष ध्यान दिइएको छ ।
अत्यन्त लजालु स्वभावको सालक रातको समयमा आहारको खोजीमा बढी सक्रिय हुने गर्छ । यही क्रममा कहिलेकाहीं आफ्नो प्राकृतिक बासस्थान छाडेर गाउँ तथा बजार क्षेत्रसम्म पुग्ने गरेको पाइन्छ । रानी सामुदायिक वन क्षेत्रमा सालकको संख्या क्रमशः बढ्दै गएको वन समूहको भनाइ छ । असार १६ गते विहान करिब ५ बजे चौघडा बजारमा करिब ४ किलोग्राम तौल भएको एक काले सालक भेटिएको थियो । स्थानीय रामबहादुर गुरुङले पसल खोल्न जाने क्रममा बाटोछेऊमा सालक देखेपछि वन समूहलाई खबर गरेका थिए ।
उक्त सालकलाई मकवानपुरगढी गाउँपालिका–७ का अध्यक्ष तथा वन समूहका उपभोक्ता सूर्यबहादुर रुम्बाको रोहवरमा सुरक्षितरुपमा रानी सामुदायिक वनभित्र रहेको सालक संरक्षण केजमा छाडिएको हो । सालक उद्धार तथा संरक्षण कार्यक्रममा वन समूह अध्यक्ष केशब धिताल, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईं, केदारप्रसाद अधिकारी, लेखा संयोजक राजकुमार फुयाँल, सालक सम्बन्धि अध्ययन गरिरहेका विद्यार्थी समिक बिष्ट तथा वन समूहका उपभोक्तालगायतको सहभागिता थियो ।
वन समूहका कार्यालय सचिव भीमसेन पौडेलले सहभागीहरुलाई सालकको महत्व, यसको जीवनचक्र तथा संरक्षणका उपायबारे जानकारी गराएका थिए । किसानको साथीका रुपमा परिचित सालकले कमिला र धमिरा खाइ वनको जैविक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । त्यसैले दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्नु हामी सबैको दायित्व हो । वन समूहका अनुसार रानी सामुदायिक वन क्षेत्रमा हाल करिब पाँच दर्जन सालक रहेको अनुमान छ ।














