हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुबाट लामो समयदेखि उठ्न बाँकी रहेको बक्यौता असुलीका लागि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कडा कदम चालेको छ । बक्यौता नतिर्ने ५७ उद्योगको विद्युत् लाइन काटिएपछि उद्योगीहरुमा दबाब बढेको छ भने केही उद्योगले बक्यौता बुझाएर पुनः विद्युत् जडान गराइसकेका छन् ।

 औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार औद्योगिक क्षेत्रका उद्योगहरुबाट करिब ४४ करोड ७० लाख बक्यौता उठ्न बाँकी छ । उक्त रकममध्ये मुख्यरुपमा जग्गा तथा भवन बहाल, विद्युत् महसुल र खानेपानी शुल्क समावेश छन् । उद्योग मन्त्रालयले केही समयअघि देशभरका औद्योगिक क्षेत्रका बक्यौता उद्योगहरुको सूची सार्वजनिक गरेपछि औद्योगिक व्यवस्थापन कार्यालयले पनि क्षेत्रभित्र सञ्चालित तथा क्षेत्र छाडेर गएका उद्योगहरुलाई सात दिनभित्र बक्यौता चुक्ता गर्न पत्राचार गरेको थियो । तर, समयमै रकम नबुझाएपछि कार्यालयले विद्युत् लाइन काट्ने प्रक्रिया अघि बढाएको हो ।

 औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार बक्यौता नतिर्ने ५७ उद्योगको विद्युत् लाइन काटिएको थियो । त्यसपछि महसुल बुझाउन थालेका उद्योगहरुमध्ये २४ उद्योगको लाइन पुनः जडान गरिसकिएको उनले जानकारी दिए । भण्डारीका अनुसार कार्यालयले पछिल्लो समय बक्यौता असुलीलाई अभियानकै रुपमा अघि बढाएको छ ।

 औद्योगिक क्षेत्रभित्रका उद्योगबाट मात्र करिब १३ करोड तत्काल उठाउनुपर्ने रहेकामा त्यसको झण्डै ५० प्रतिशत् रकम असुल भइसकेको छ । उनले धेरै उद्योगी सम्पर्कमा आएर बिस्तारै बक्यौता बुझाउने क्रम सुरु भएको बताए । ‘पहिला विद्युत् काटेर सचेत गराएका छौं । अब पनि अटेर गर्ने उद्योगको हकमा थप कडा कदम चालिनेछ,’ उनले भने ।

 कार्यालयले विद्युत् काटेरमात्र नरोकिने स्पष्ट पारेको छ । लामो समयसम्म बक्यौता नतिर्ने र कार्यालयको ताकेताप्रति बेवास्ता गर्ने उद्योगहरुको लिज सम्झौता नै खारेज गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ । सूचना अधिकारी भण्डारीका अनुसार केही उद्योगीले किस्ताबन्दीमा रकम तिर्ने प्रस्ताव गरेका छन् । यस्ता विषयमा केन्द्रीय कार्यालयको निर्देशनअनुसार निर्णय गरिने उनले बताए । ‘धेरै उद्योगी सम्पर्कमा आउनुभएको छ । दुगड अटो क्लिनिकले पनि करिब तीन करोड बुझाएको जानकारी आएको छ । तर, सात दिनभित्र पनि कसैले चासो देखाएन भने लिज सम्झौता नै खारेज गर्ने प्रक्रिया सुरु गर्छौं,’ उनले भने ।

 औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको विवरणअनुसार सबभन्दा धेरै बक्यौता दुगड अटो क्लिनिक प्रालिको छ । उक्त उद्योगले ३ करोड ३० लाख बढी बुझाउन बाँकी थियो । कम्पनीले पछिल्लो समय करिब तीन करोड बुझाइसकेको कार्यालयको दाबी छ । त्यसपछि बतास ब्रदर्स मोटर्स प्रालिको २ करोड २६ लाख, नेपाल वनस्पति घ्यु उद्योगको ६६ लाख ७८ हजार, साल्ट ट्रेडिङ कर्पोरेसनको ५३ लाख ३२ हजार तथा नेपाल बैंक लिमिटेडको ४३ लाख १० हजार बक्यौता छ ।