हेटौँडा/मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिक महेन्द्र राजमार्गमा सोमबार दिउँसो एउटा विद्युतीय (ईभी) सवारीसाधन दुर्घटनामा पर्दा ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो करिब १२ः५० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०४६९ नम्बरको ईभी एक्कासी जंगली जनावरले बाटो काटेपछि चालकले नियन्त्रण गुमाउँदा सडकको बाँया किनारमा पल्टिएको हो।
दुर्घटनाका बेला ईभीमा चालकसहित ८ जना सवार रहेका थिए। घाइते ६ जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। चालक काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१० निवासी ५६ वर्षीय दिलिप सिलिवाल प्रहरी चौकी रातोमाटेको नियन्त्रणमा रहेका छन्।
दुर्घटनामा नुवाकोट तादी गाउँपालिका–३ निवासी ४२ वर्षीया सीता सुनार, ५५ वर्षीया राधा सुनार, भारतको बिहार राज्य दरभंगा जिल्ला निवासी २४ वर्षीय क्यामुल हक, पर्साको वीरगञ्ज महानगरपालिका–१५ निवासी २३ वर्षीय रवि कुमार गुप्ता, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ निवासी ४८ वर्षीय पासाङ लामा तथा काठमाडौं दक्षिणकाली नगरपालिका–५ निवासी २७ वर्षीय कृष्ण तामाङ घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी चौकी रातोमाटे र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट ट्राफिकसहितको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा सवारीसाधनमा क्षति पुगे पनि राजमार्गमा यातायात सञ्चालनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।














