हेटौँडा । ईन्द्रबहादुर बानियाँ र किरण थापा ले हेटौँडा अस्पतालको निरीक्षण गर्दै स्वास्थ्य सेवाको वर्तमान अवस्था, सेवा प्रवाह र पूर्वाधारको बारेमा जानकारी लिनुभएको छ।
निरीक्षणका क्रममा उहाँहरूले अस्पतालको अपरेशन कक्ष, सघन उपचार कक्ष (आईसीयू) तथा डायलाइसिस सेवाको अवलोकन गर्नुभएको थियो। अस्पताल व्यवस्थापन तथा स्वास्थ्यकर्मीहरूसँग छलफल गर्दै सेवा प्रवाहमा देखिएका चुनौती, उपलब्ध स्रोत–साधन तथा सेवाको प्रभावकारिताबारे जानकारी लिनुभएको थियो।
मुख्यमन्त्री बानियाँले नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै अस्पतालको सेवा क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्वास्थ्य मन्त्री थापाले पनि स्वास्थ्य संस्थाको भौतिक तथा प्राविधिक क्षमता सुदृढीकरणमार्फत सेवाको गुणस्तर बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
निरीक्षणका क्रममा अस्पतालमा उपलब्ध उपचार सेवा, उपकरणको अवस्था तथा बिरामीले प्राप्त गरिरहेको सेवाबारे समेत चासो व्यक्त गरिएको थियो। प्रदेश सरकारको उच्च तहबाट भएको यस निरीक्षणले हेटौँडा अस्पतालको सेवा सुधार र स्वास्थ्य क्षेत्रको विकासमा सकारात्मक सन्देश दिएको विश्वास गरिएको छ।












