हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नेतृत्व चयनका लागि जारी अधिवेशनमा निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ। प्रतिनिधि छनोट र मतदाता नामावली सम्बन्धी विवाद चुलिएपछि निर्वाचन समितिले मतदान कार्यक्रम रोक्ने निर्णय गरेको हो।
अधिवेशनमा सहभागी प्रतिनिधिमध्ये करिब ४ सय जनाको वैधानिकतामाथि प्रश्न उठाउँदै उजुरी परेपछि विवाद थप गहिरिएको थियो। विशेषगरी पार्टी समायोजनबाट आएका सदस्यहरूको प्रतिनिधित्वलाई लिएर असन्तुष्टि देखिएको बताइएको छ।
निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको मतदाता नामावलीमाथि सुरुदेखि नै प्रश्न उठे पनि उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाइएको थियो। तर विवाद समाधान हुन नसकेपछि बुधबारका लागि तय गरिएको मतदान कार्यक्रम सञ्चालन हुन सकेन।
निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले मतपत्रमा देखिएका प्राविधिक त्रुटि, प्रतिनिधिसम्बन्धी उजुरी तथा व्यवस्थापकीय पक्षलाई मिलाउन समय आवश्यक परेकाले निर्वाचन कार्यक्रम रोकिएको जानकारी दिइन्। उनका अनुसार सबै विषय टुंग्याएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिनेछ।
निर्वाचन प्रक्रिया स्थगित भएसँगै अधिवेशनस्थलको गतिविधि समेत प्रभावित बनेको छ। मतदानको प्रतीक्षामा रहेका प्रतिनिधिहरू अन्योलमा परेका छन् भने कतिपय प्रतिनिधि घर फर्किन थालेका छन्।
रास्वपाको बागमती प्रदेश नेतृत्व चयनका लागि आयोजित अधिवेशनमा १ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी रहेका छन्। निर्वाचन समितिले सबै विवाद समाधान गरेर नयाँ मतदान मिति तोक्ने तयारी भइरहेको जनाएको छ।












