हेटौंडा/बागमती प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख कार्यालय समक्ष सिफारिस गर्ने निर्णय भएको छ । बिहीबार हिजो बसेको मन्त्रीपरिषद्को बैठकले चालु अधिवेशन शुक्रबार आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता प्रभात तामाङले जेठ १ गते रातिबाट चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए। गत चैत्र २४ गतेबाट हिउँदे अधिवेशन आव्हान भएको थियो। प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट निर्माणको तयारीमा छ । त्यसैले हिउँदे अधिवेशन अन्त्य गरेर प्रि–बजेट छलफल सुरु गर्ने तयारी रहेको प्रदेशकोे आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका प्रवक्ता तामाङले बताए ।
यस्तै, मन्त्रीपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। २०७९ मा ऐन निर्माण भएर कार्यान्वयनमा आएपनि नियमावली बन्न सकेको थिएन । प्रवक्ता तामाङका अनुसार प्रदेशको स्वास्थ्य मन्त्रालयको प्रस्तावमा काभ्रेमा रहेको स्वास्थ्य तालिम केन्द्र हेटौंडामै स्थानान्तरण गर्ने निर्णय गरिएको छ । आजकै बैठकले वातावरण संरक्षण ऐन संसोधन विधेयक र प्रदेश उच्च शिक्षा ऐन २०७८ संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पठाउन संसदीय समितिमा पठाउने निर्णय गरिएको प्रवक्ता तामाङले बताए ।














