हेटौंडा/ परिवारका नाममा शेयर र अवैध सम्पति रहेको आशंकामा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको हेटौंडा र काठमाडौंस्थित घर तथा उहाँ संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा छापामारी गरिएको छ । केही कागजात नियन्त्रणमा लिइएको छ ।

उक्त कार्यप्रति आपत्ति जनाउँदै उहाँले तर अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताउनुभएको छ । यसप्रति असन्तुष्टि जनाउँदै उहाँले काननी तथा संवैधानिक दायराभित्र हुने सबै अनुसन्धानमा पूर्ण समर्थन रहने विचार व्यक्त गर्नभएको छ ।

सोमबार जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले हेटौंडा र काठमाडौंस्थित आफ्ना घर तथा आफू संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा विभागले छापा मारी कागजात नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नभएको छ ।

उहाँले आफू मुख्यमन्त्री बनेपछि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको दाबी गर्नभएको छ । उहाँका अनुसार प्रदेश सरकारको कार्य सञ्चालनमा खर्च कटौती, आर्थिक मितव्ययिता तथा आवश्यकता र औचित्यमा आधारित योजना तथा कार्यक्रममार्फत बजेटमा पारदर्शिता कायम गर्ने प्रयास भइरहेको छ ।

मुख्यमन्त्री बानियाँले तीन तहका सरकारबीच समन्वय, सहअस्तित्व र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संघीय सरकारले गर्ने सकारात्मक काममा प्रदेश सरकारको साथ रहने बताउनुभएको छ । राज्यका जुनसुकै निकायबाट हुने अनुसन्धानलाई सकारात्मकरुपमा लिएको स्पष्ट पार्दै आवश्यक परे भौतिकरुपमा उपस्थित भएर सहयोग गर्न तयार रहेको उहाँले जनाउनुभएको छ ।

उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भन्नभएको छ, आफ्नो जीवनको महत्वपूर्ण ऊर्जाशील समय युवादेखि विद्यार्थी अवस्था हुँदै चालीस वर्ष भन्दा लामो राजनीतिक यात्राका कयौं आरोह अवरोहपश्चात् हाल बागमती प्रदेश सरकारको सरकार प्रमुखको रुपमा जनताको सेवक भइ मुख्यमन्त्रीको पदमा रहेको सम्पूर्ण नागरिकलाई सर्वविदितै छ । राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा म सहयोग गर्न तत्पर रहेको स्पष्ट पार्न चाहन्छु । राजनीतिक र व्यावसायिक जीवनबारे गर्ने छानबिनलाई मैले सकारात्मकरुपमा लिएको छु । तर, उहाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिकरुपमै पनि उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउनुभएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले मुख्यमन्त्री बानियाँको घर तथा कार्यालयमा छापा मार्नअघि नै सुरक्षा तयारी थालेको खुलेको छ । विभागले आइतबार नै जिल्ला प्रहरी कार्यालय मकवानपुरसँग आवश्यक सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेको स्रोतले जनाएको छ । सोही तयारीअनुसार सोमबार विहानबाट बानियाँका विभिन्न स्थानमा रहेका घर तथा कार्यालयमा एकैपटक छापा मारिएको हो ।

काठमाडौंको नक्साल र सुन्धारा तथा हेटौंडा—५ पिप्लेस्थित घर र कार्यालयमा विभागको टोली पुगेको प्रहरीले पुष्टि गरेको छ । अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा अनुसन्धान सुरु गरिएको विभागले जनाएको छ । हेटौंडा—५ स्थित पिप्लेमा विभागका चार कर्मचारी र तीन जना प्रहरी खटिएका थिए भने सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको थियो ।

मुख्यमन्त्री बानियाँले सोमबार विहान करिब ९ बजेपछि मात्र उक्त कारबाहीबारे जानकारी पाउनुभएको थियो । उहाँ बागमती प्रदेश संसदीय दलको बैठकमा सहभागी भइरहेका बेला आफ्नै घर तथा कार्यालयमा छापा परेको खबर पाउनुभएको थियो ।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पार्टीको बागमती प्रदेश सभापतिसमेत रहनुभएका बानियाँ ‘क’ वर्गका निर्माण व्यवसायी हुनहुन्छ । उहाँको ‘बानियाँ निर्माण सेवा’ कम्पनी सञ्चालनमा छ ।