चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरी चितवन ल्याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार बिहीबार विहान करिब ११ बजे केही व्यक्ति कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूलाई सामूहिकरुपमा हातपात गरेका हुन् । घटनामा संलग्नमध्ये एक जना निर्माण व्यवसायी रहेको र अन्य व्यक्तिलाई आफूले नचिनेको उनले बताएका छन् । घटनापछि घाइते भएका बस्नेत इच्छाकामना आधारभुत अस्पतालमा भर्ना भइ उपचार गराइरहेका छन् ।