हेटौंडा/नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगरले बागमती प्रदेशको जग बलियो बनाउन पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले सौराहामा आयोजना गरेको संस्कृति तथा पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारमा सञ्चारकर्मीको भूमिका विषयक अन्तत्र्रिmयामा उनले पर्यटकीय क्षेत्रको प्रवद्र्धनको लागि सञ्चारक्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । बागमती प्रदेशको सबभन्दा ठूलो सम्पत्ति कला र संस्कृति रहेको भन्दै कला र संस्कृतिमार्फत् पर्यटन विकास सम्भव रहेको उनले बताए ।

प्रदेशको जग बलियो बनाउन पर्यटनको भूमिका महत्वपूर्ण हुने भन्दै पर्यटनलाई मजबुत् बनाउन सञ्चारक्षेत्रको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । कला र संस्कृतिको धनी रहेको बागमती प्रदेशको पहिचानलाई जोगाउँदै परम्परागत् संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने उनले बताए । कला, संस्कृति र पर्यटनको मिश्रणले स्थानीय समुदायको जीवनस्तर उकासिने भन्दै पर्यटन देशको आर्थिक मेरुदण्डमात्र नभइ स्थानीय समुदायको जीविकोपार्जनको आधार पनि भएको बताए । ‘पर्यटन उकासियो भने मुलुकको अर्थतन्त्र उकासिन्छ,’ उनले भने–यसका लागि पनि सञ्चारक्षेत्रले सरकार र व्यवसायीबीच रहेर सम्भावनाको उजागर गर्नुपर्छ ।

मन्त्रालयका सचिव दीपेन्द्र सुबेदीले चितवन जिल्लालाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी काम सुरु गरिएको बताए । ‘हामी पर्यटनमा विविधता खोजिरहेका छौं,’ उनले भने–यसका लागि महत्वपूर्ण स्थानमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना बनाएका छौं । स्वदेशी र विदेशी पर्यटकले रुचाउने खालका पर्यटनका आयामहरु थप गर्ने योजना रहेको भन्दै उनले त्यसका लागि सरकारले ठूलो धनराशि लगानी गरिरहेको उनले बताए ।

‘एक निर्वाचन क्षेत्र–एक पर्यटकीय गन्तव्य बनाउँदैछौं,’ उनले भने–यसले प्रदेशको पर्यटनलाई जुरुक्कै माथि उठाउने छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा नीतिगत् सुधार र परिमार्जन, पर्यटन पूर्वाधार सुधार, पर्यटन सूचना केन्द्र स्थापना तथा सञ्चालन तथा विभिन्न कार्यक्रममा अनुदानलगायत थुप्रै कार्यक्रम गरिएको मन्त्रालयका सचिव सुबेदीले जानकारी दिए । कार्यक्रममा क्षेत्रीय होटल संघ चितवन उपाध्यक्ष गुणराज श्रेष्ठले सौराहाको पर्यटन विकासका लागि प्रदेश सरकारले गरेको लगानी र चासो सकारात्मक रहेको बताए ।

संघ महासचिव महेश खनालले सौराहाको पर्यटनलाई विस्तार गर्दै थप कार्यक्रमका रुपमा रात्रिकालीन जीप सफारी सुरु गर्न लागिएको बताए । ‘पर्यटकको चापले प्याकेज कार्यक्रम थप गर्नुपर्ने अवस्था आयो,’ उनले भने–सामुदायिक वन र प्रदेश सरकारसँग सहकार्य गरी साउन १ गतेबाट रात्रिकालीन जीप सफारी सुरु गर्न लागिएको

छ ।