काठमाडौं । समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा जनसभा गर्ने भएको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले बृहत् जनसभा गर्ने निर्णय लिएको हो ।

मोर्चाको नेतृत्व अहिले नेकपा (माओवादी केन्द्र) ले गरिरहेको छ । देशको परिस्थिति जटिल बनाउने प्रयास भइरहेकाले गणतन्त्रको पक्षमा वातावरण बनाउन मोर्चाले प्रदर्शन गर्न लागेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

यसअघि बुद्धिजीवी र नागरिक समाजसँग चैत २ गते शनिबार बिहान ११ बजे अन्तक्रिया गरिने भएको छ । बैठकले संसदवादी र बाहिर रहेका राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने, राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षाका साथै समाजवादतिरको यात्रालाई सहज बनाउने र यसको पक्षमा वातावरण बनाउन छलफल गर्ने निर्णय भएको बताइएको छ ।