काठमाडौं । विहीबार मनाइँदै गरिएको फागुको सन्दर्भमा देशका विशीष्ट व्यक्तित्वहरुले शुभकामना व्यक्त गरेका छन् ।
यस अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले फागुले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

फागुका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेशबुकमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका हुन् ।

फागुपूर्णिमालाई होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ भन्दै शुभकामनामा प्रधानमन्त्री ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउने उल्लेख गरेका छन् ।

सभामुख देवराज घिमिरेले फागुपूर्णिमा पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड भएको बताएको बताएका छन् । यस पर्वलाई मर्यादित र सभ्य तरिकाले मनाउन अपिल समेत गरेका छन् । उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘फागु पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिएको छ । धार्मिक रूपमा भक्त प्रह्लादको कथासँग जोडिएको यो पर्वले जीवनमा सकारात्मक सोच राख्न प्रेरणा दिन्छ । यो विभिन्न जातजाति, धर्म, क्षेत्रका मानिसहरूबीच मेलमिलाप र एकता बढाउने, नेपाली समाजको पहिचान झल्काउने पर्व हो, रङ, रमाइलो र उत्सवमय वातावरणले यस पर्वलाई अझ उल्लासमय बनाउँछ ।’

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्वमा शुभकामना सन्देश जारी गर्र्दै खेलिने विविध रङहरू जस्तै विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको बताएका छन् । देउवाले भनेका छन्,–‘फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ । यस अवसरमा मेरो र पार्टीको तर्फबाट हार्दिक शुभकामना छ ।’
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागु पर्वको शुभकामना व्यक्त गर्दै यस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने बताएका छन् । होलीलगायत मौलिक पर्वले समुदायलाई एकताबद्ध गर्न सघाउने उनको शुभकामना सन्देशमा छ ।

विभिन्न धर्म,भाषा र संस्कृति मान्ने समुदायहरूलाई आआफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न यस पर्वले अभिप्रेरित गर्ने उनको भनाई छ ।