मकवानपुर । बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले शुक्रबार सय दिनको उपलब्धि सार्वजनिक गर्दै ३ सहकारीलाई समस्याग्रस्त घोषणा गरेका छन् । यस्तै, उनले ८ वटा सहकारीमाथि छानबिन गर्न प्रहरीमा पठाएका छन् ।

मन्त्री श्रेष्ठले मंसिर ७ गतेमात्र जिम्मेवारी पाएका थिए । गत साउन ९ मा मन्त्री नियुक्त भएपनि जिम्मेवारी भने ढिला गरी पाएका हुन् ।
मन्त्री श्रेष्ठले भवन तथा पूर्वाधारको व्यवस्थापन, सहकारी अभिलेख तथा कागजहरूको व्यवस्थापन, डिजिटाइलेशनको कार्य प्रारम्भ गरिएको बताए । नियमित रूपमा सहकारी संस्थाहरूको सुपरिवेक्षण तथा नियमनसहित सहकारी बचत पीडितहरूको रकम फिर्ता गराउन पहल गरिएको मन्त्री श्रेष्ठको भनाई छ । सहकारी व्यवस्थापन तथा सेवा प्रवाहलाई सहज र प्रभावकारी मन्त्रालयले सफट्वेयरको निर्माणको तयार भइरहेको उनले जानकारी दिए ।

यस्तै, सहकारीहरूमा देखिएका वित्तीय तथा व्यवस्थापकीय संकट समाधानका लागि मन्त्रालयले सञ्चालक तथा पदाधिकारीहरूसँग निरन्तर छलफल गरिरहेको र समस्या देखिएका सहकारीबाट बचतकर्ताको बचत फिर्ता, व्यवस्थापन लगायतका विषयमा ठोस कार्ययोजना निर्माण गरी पेस गर्न निर्देशन गरिएको बताइएको छ ।

सय दिनको उपलब्धिको मन्त्री श्रेष्ठले गत पुस २८ गतेको निर्णय गर्दै नेश्नल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँ, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँ र सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड ललितपुरलाई समस्याग्रस्त सहकारी घोषणा गरेको बताए । यसअघि दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँ र सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँ समस्याग्रस्त सहकारी घोषणा भइ व्यवस्थापनको काम भइरहेको जानकारी दिए ।